काठमाडौं - यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । मन्त्रिपरिषदको बुधबार साँझ बसेको बैठकले विद्यालयको आन्तरिम मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको हो ।
गत चैत ६ गतेदेखि सुरु हुने एसईई परीक्षा चैत ५ गते स्थगित हुँदा परीक्षाको तयारीमा रहेको लाखौं विद्यार्थी मारमा परेका थिए ।
शिक्षा मन्त्रालयले आन्तरिक मूल्याङ्कन, प्रदेशगतरुपमा परीक्षा लिने वा विद्यमान कानूनलाई संशोधन गरी कक्षा १२ मा मात्रै राष्ट्रियस्तरको एसइई परीक्षा लिनेजस्ता विकल्प पेश गरेको थियो । तर विद्यालयहरूमा क्वारेन्टिन स्थल बनाएकाले तत्काल परीक्षा असम्भव भएकाले निष्कर्ष सहित आन्तरिक मूल्याङकनका आधारमा ग्रेड निर्धारण गरिने भएको हो ।
यस्तै बैठकले जनजीवन सहज पार्नका भन्दै पसल खोल्न दिने र ट्याक्सी, मोटरसाइकल लगायतका निजी सवारी साधन संचालन गर्न भोलि देखि नै दिने निर्णय बैठकले गरेको छ । तर लामो रुटका सवारी साधन र सार्वजनिक सवारी साधन तत्काल सञ्चालन गर्न नदिने भएकाे छ ।
खुलेका पसलहरुमाथि मापदण्डको निगरानी र अनुगमन कडा बनाउने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ ।