१.कोरोना संक्रमितको संख्या ५ हजार नाघ्याे, एकैदिन ४४८ जना संक्रमित थपिए
नेपालमा थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जना ४ सय २४ पुरुष र २४ जना महिलामा संक्रमण देखिएको जानकारी गराए।यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।
२.संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने जसपाको निर्णय
जनता समाजवादी पार्टी (जसपा) ले संविधान संशोधन विधेयकका पक्षमा मतदान गर्ने भएको छ । सो पार्टीको आज बसेको पदाधिकारी बैठकले सरकारले प्रतिनिधिसभामा प्रस्तुत गरेको संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । संसद्मा प्रस्तुत संविधान संशोधन गर्न बनेको विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको जसपाका नेता केशव झाले जानकारी दिए ।
३.अर्घाखाँचीमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि, मृतककाे संख्या १६ पुग्यो
अर्घाखाँचीको मालारानी गाउँपालिकाको क्वारेन्टिनमा मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।
मालारानी गाउँपालिका–४ का ५७ वर्षीय मृतक पुरुषमा कोरोना पुष्टि भएको हो । याे संगै काेराेनाका कारण मृत्यु हुनेकाे संख्या १६ पुगेकाे छ।
४.राष्ट्रपतिसँग राजदूतको बिदाइ भेट
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि गणतन्त्र दक्षिण कोरियाका-राजदूत पार्क योङ-सिकले आज राष्ट्रपति निवास शीतलनिवासमा शिष्टाचार बिदाइ भेट गरे ।सो अवसरमा उनीहरुबीच दक्षिण कोरिया र नेपालबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जारी गरेका विज्ञप्तिमा उल्लेख छ ।
५.क्यानाडा र बेलायतका विदशेमन्त्रीसँग मन्त्री ज्ञवालीको वार्ता
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले क्यानाडाका विदेशमन्त्री फ्रान्कोइस फिलिप चाम्पाने र बेलायतका विदेश राज्यमन्त्री लर्ड अहमदसँग बेग्लाबेग्लै टेलिफोन वार्ता गरेका छन् । वार्तामा मन्त्रीत्रयबीच कोभिड–१९ को महामारी तथा त्यसको नियन्त्रणका लागि आफ्नो देशका सरकारले निर्वाह गरेका भूमिकाबारे विचारविमर्श हुनुका साथै अहिलेको कठिन परिस्थितिमा सहकार्य र साझेदारीमा उनीहरूले जोड दिएका परराष्ट्र मन्त्रालयले जनाएको छ ।
६.क्वारेन्टिनमा रहेकाहरुलाई परीक्षणबिनै घर पठाइने
सुदूरपश्चिममा अबदेखि क्वारेन्टिनमा रहेकाहरुलाई परीक्षण नगरेरै घर पठाइने भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार एक सूचना जारी गरि प्रदेशमा कोरोना परीक्षण किट अभाव भएपछि क्वारेन्टिनबाट परीक्षण बिनै घर पठाइने जनाएको छ ।
७.प्रदेश नं ५ मा लैङ्गिक हिंसा : बाँकेमा बढी, रुकुममा कम
प्रदेश नं ५ मा यो आर्थिक वर्षको १० महिनाको अवधिमा एक हजार ९१४ वटा लैङ्गिक हिंसाका घटना भएका छन् । यसमध्ये घरेलु हिंसाका घटना धेरै छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशका १२ जिल्लामा आव २०७६/७७ को साउनदेखि जेठ महिनासम्ममा जबर्जस्ती करणीका २८६ र जबर्जस्ती करणी उद्योगअन्तर्गत ८० मुद्दा दर्ता भएका छन् ।
८.कान्ति बाल अस्पतालको ओपिडी टिकट अब मोबाइलबाटै
कान्ति बाल अस्पतालले अनलाइन टिकट लिने व्यवस्था सुरु गरेको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालयमा आज आयोजित कार्यक्रममा कान्ति चिल्ड्रेन हस्पिटल नामकको एप्स मोबाइलमा डाउनलोड गरेर टिकट लिन सक्ने बताए।
९.नेपाल रेल्वेको महाप्रवन्धकमा गुरु भट्टराई !
नेपाल रेल्वेको महाप्रबन्धकमा गुरु भट्टराईलाई नियूक्त हुने भएका छन्। भट्टराईले आफ्नो फेसबुकमार्फत मन्त्रीपरिषदको बैठकले आफुँलाई नेपाल रेल्वेको महाप्रवन्धकमा नियूक्त भएको जानकारी दिएका छन्।‘‘मन्त्रीपरिषदले नेपाल रेल्वेको महाप्रबन्धक पदमा मलाइ नियुक्त गरेकाले सम्मानिय प्रधामन्त्री तथा माननीय मन्त्रीज्युहरुलाइ धन्यबाद दिन चाहन्छु’’ उनले लेखेका छन्, ‘‘सुखि नेपाली संबृद्ध नेपालको प्रमको यो अभियानमा एउटा सारथी बन्ने जीम्मेबारी पाएकोमा गौरवान्वित छु।’’
१०.भारतबाट कर्णाली भित्रिनेको सङ्ख्या ४१ हजार नाघ्यो
रोजगारीको सिलसिलामा भारत गएका कर्णालीका ४१ हजारभन्दा बढी नागरिक स्वदेश फर्केका छन् । वैशाख महिनासम्म दुई हजार ४०० नागरिक बबई नाकाबाट कर्णालीमा प्रवेश गरेकामा जेठ महिनामा त्यो सङ्ख्या १९औँ गुणाले बढेर आयो । जेठ ६ गतेदेखि दैनिक हजारौँ मान्छे आउने क्रम निर्वाध चलेपछि यो महिनाको २९ गतेसम्म ३८ हजार ७१२ नागरिक कर्णाली भित्रिएको कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायले जानकारी दिए ।