काठमाडौं - सरकारले संसदमा दर्ता गराएको नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ शनिबार अाज पारित गर्ने भएकाे छ ।दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकले सो विधेयक पारित गर्न लागेको हो ।
हालै सरकारले अद्यावधिक गरेको मुलुकको राजनीतिक तथा प्रशासनिक नक्साअनुसार निशास छाप परिवर्तनका लागि सो विधेयक संसदमा पेश गरिएको हो । संसदले विधेयक पारित गरेसँगै संविधान तथा निशान छापमा समेत लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा समावेश हुनेछ ।
संभावित कार्यसूची अनुसार बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङफेले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।
छलफलपछि कानुनमन्त्री तुम्बाहाङफेले नै उक्त विधेयकलाई पारित गर्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् । सो संविधान संशोधन विधेयकमाथि जनता समाजवादीकी सांसद सरिता गिरीले एक संशोधन प्रस्ताव पनि दर्ता गराएकी छन् ।