काठमाडाैं - संसदमा संविधान संशोधन विधेयकमाथिको मतदान प्रक्रिया सुरु भएको छ। निशान छाप संशोधन गर्ने संविधान संशोधन विधेयकमाथि प्रतिनिधिमा छलफल सकिएपछि मतदान प्रक्रिया सुरु भएको हो।
कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री शिवमाया तुम्बाहाम्फेले विधेयकमा दफावार छलफल गर्न प्रस्ताव प्रस्तुत गरेकी थिइन्। प्रस्तावमाथि सांसदहरुले आफ्नो धारणा राखिसकेपछि विधेयकमाथि मतदान सुरु भएको हो। मतदानपछि केहीबेरमा भारतको अतिक्रमणमा परेका नेपाली भुभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा औपचारिक रुपमा नेपालको नक्सामा समेटिने छन्।
भारतले अतिक्रमण गरेका लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा जारी गरेपछि सरकारले त्यस अनुसारको संविधानको अनूसूचीमा रहेको नक्सा अद्यावधि गर्न जेठ ९ मा संशोधन विधेयक संसदमा दर्ता गरेको थियो। यस्तै सुरुदेखि नै नयाँ नक्साको निर्णयमा विरोध जनाएकी समाजवादी पार्टीकी सांसद सरिता गिरीले दर्ता गरेको संशोधन प्रस्ताव भने खारेज भएको छ ।
प्रतिनिधि सभामा भइरहेको मतदानको परिणाम केही बेरमा आउने छ । संविधान संशोधन गर्नको लागि प्रतिनिधि सभामा रहेको सदस्य सङ्ख्याको दुई तिहाइ बहुमतले पारित गर्नुपर्नेछ ।