१.नयाँ राजनीतिक नक्सा संसदबाट सर्वसम्मतले पारित
लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपाली भूभाग निशान छापमा समावेश गरी संविधान संशोधन गर्न प्रतिनिधिसभामा पेश गरिएको प्रस्ताव सर्वसम्मतले पारित भएको छ। शनिबार बसेको संसद बैठकले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयक सर्वसम्मत पास गरेको हो ।
२.पछिल्लो २४ घण्टामा थपिए २७३ संक्रमित, कुल संक्रमितः ५ हजार ३ सय ३५
नेपालमा पछिल्लो २४ घण्टामा २ सय ७३ जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको पुष्टि गरे। प्रवक्ता डा गौतमले आज थपिएका संक्रमितमा २ सय ४७ जना पुरुष र ३६ जना महिला रहेको बताए । यस्तै संक्रमित मध्ये ४ हजार ९ सय ४९ जना पुरुष र ३ सय ८६ जना महिला छन्।
३.सरकारले सार्वजनिक गर्यो कोरोना रोकथाम, नियन्त्रण र उपचार खर्च
सरकारले कोरोना भाइरस (कोभिड-१९)रोकथाम, नियन्त्रण र उपचारमा भएको खर्च विवरण सार्वजनिक गरेको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले शनिबार ट्विटमार्फत खर्च विवरण सार्वजनिक गरेका हुन्। उनले कोभिड–१९ संकट व्यवस्थापन संचालन केन्द्र (सीसीएमसी) निर्देशन समितिको निर्णयअनुसार खर्च विवरण सार्वजनिक गरिएको जनाएका छन्।
४.थप दुई कोरोना संक्रमितको मृत्यु, मृतक संख्याः १८
कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बारा र पर्साका एक एक जना गरी दुई जनाको मृत्यु भएको हो। याे संगै काेराेनाका कारण मृत्यु हुनकाे सँख्या १८ पुगेकाे छ । वीरगञ्जस्थित प्रयोगशालाबाट आज विहान आएको पीसीआर रिपोर्टमा दुबै जनामा कोराना भाइरस पोजेटिभ देखिएको हो ।
५.प्रचण्डले भने – हामीले भारतसँग दुश्मनी चाहेका छैनौ
काठमाडौंनेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘‘प्रचण्ड’’ले मुलुकले भारतसँग दुश्मनी नचाहेको बताएका छन्। प्रतिनिधी सभाको बैठकमा बोल्दै नयाँ नक्सा जारी गरेर नेपालले भारतसँग दुश्मनी गर्न नचाहेको भइ सिमानमा देखिएको बिवाद सधैँको लागि समाधान गर्न चाहेको बताए। ‘‘हामी हाम्रा छिमेकीहरुसँग स्पष्ट र सुमधुर सम्बन्ध राख्न चाहेका छौ’’, पुर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘‘भारतलाई अप्ठ्यारो पार्नका लागि एकता प्रदर्शन गरेको हैन्।’’ उनले अबको दिनमा भारत–चिन–नेपालको सम्बन्ध नयाँ ढङ्गबाट अघि बढ्नुपर्ने बताए।
६.सांसद गिरीको संशोधन प्रस्ताव प्रस्तुत गर्न अस्वीकृत
प्रतिनिधिसभाको आजको बैठकमा मुलुकको नयाँ नक्शालाई अनुसूचीमा समावेश गर्न प्रस्तुत ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ मा समाजवादी पार्टीकी सरिता गिरीले दर्ता गरेको संशोधन प्रस्ताव प्रस्तुत गर्न अनुमति प्राप्त भएन ।सभाको आजको बैठक प्रारम्भ हुनासाथ सभामुख अग्निप्रसाद सापकोटाले उक्त विधेयकमाथि दफावार छलफलका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बोल्न समय दिँदा सांसद गिरीले उठेर बोल्न खोजेपछि सभामुखले उनको संशोधन अस्वीकृत भएकाले बोल्न समय दिन नसकिने जानकारी दिए ।
७.राजेन्द्र महतोको प्रश्न – को हो देशबेचुवा?
जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले ‘देशबेचुवा’को पहिचान गर्न आग्रह गरेका छन्। प्रतिनीधी सभा बैठकमा उनले लिम्पियाधुरा, लिपुलेक र कालपानी नेपालकै रहेको भन्दै नक्सा पुनः जारी गर्नुपर्ने अवस्था कसरी आयो भन्दै प्रश्न गरे।
८.परीक्षणको दायरा बढाउन २५ थान पिसिआर मेसिन ल्याइँदै
दैनिक १२ हजारबराबरको पिसिआर परीक्षण गर्ने लक्ष्यसहित मेडिकल सामग्री आयात गर्दै आएको विद म्यानेजमेन्टले २५ थान पिसिआर मेसिन आयात गर्ने तयारी थालेको छ । पिसिआर मेसिन तथा अत्यावश्यक सामग्रीको अभावमा कोरोना परीक्षणमा लामो समय लागेको पाइएपछि सरकारसँग सहकार्यका लागि निजी क्षेत्रले १५ थान पिसिआर मेसिन र १० थान पोर्टेवल पिसिआर मेसिन आयात गर्न लागेको हो ।
९.पूर्व क्रिकेटर वसन्त रायजीको निधन
भारतका फर्सट क्लास पूर्व क्रिकेटर एवम् लेखक वसन्त रायजीको निधन भएको छ। गएको जनवरीमा सय वर्ष पुगेका राजयीको शनिबार बिहान मुम्बइमा निधन भएको हो। शनिबार बिहान २ः२० बजे रायजीको निधन भएको भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले जनाएको छ।
१०.सामसङ ग्यालेक्सी एस २० अल्ट्रा स्मार्टफोन नेपालमा लन्च हुँदै
गत फेब्रुवारीकाे दाेस्राे साता सामसङले आफ्नो बहुप्रतिक्षित ग्यालेक्सी एस सिरिज अन्तर्गतका स्मार्टफोनहरु सार्वजनिक गरेको थियाे। कम्पनीले अमेरिकाको सानफ्रान्सिस्को सहरमा आयोजित ‘ग्यालेक्सी अनप्याक्ड इभेन्ट’ मा ग्यालेक्सी एस २०, ग्यालेक्सी एस २० प्लस र एस २० अल्ट्रा गरि तिन वटा स्मार्टफोनहरु लन्च गरेको हो।