काठमाडौं - सरकारले कोरोना नियन्त्रण गर्न गठन गरेको उच्चस्तरीय समन्वय समिति खारेज गरेको छ । कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा प्रभावकारी काम गर्न नसकेको भन्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समिति खारेज गरेको हो ।
नेपालमा एकजना कोरोना सङ्क्रमित ब्यक्ति फेला परेपछि न्यूनीकरणका लागि सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा गृह, अर्थ, परराष्ट्र, स्वास्थ्य, संस्कृति पर्यटन, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी, शिक्षा तथा विज्ञान प्रविधिमन्त्री सम्मिलित उच्चस्तरीय समन्वय समिति बनाएको थियो ।
त्यही समितिले पहिलोपल्ट अन्तर्राष्ट्रिय सीमानाका, हवाइ उडान रोक्ने र चैत ११ गतेदेखि लकडाउन गर्ने घोषणा गरेको थियो ।
गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उच्चस्तरीय समन्वय समिति विघटन गर्ने निर्णय गरेको हो । यो सँगै अब सबै काम कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) लाई दिने निर्णय गरेको छ ।
चैत १६ गतेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री कार्यालयको सचिवको नेतृत्वमा रक्षा, गृह, स्वास्थ्य र आपूर्ति मन्त्रालयको प्रतिनिधि रहने कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) निर्माण गरेको थियो ।छाउनीस्थित महावीर गण (रेञ्जर) मा लगेर सीएमसीको कार्यालय खडा गरिएको भन्दै आलोचना पनि भएको थियो ।
पछिल्लो समय लकडाउन खुकुलो बनाउने र स्वास्थ्य सङ्कटकाल घोषणा गर्ने भन्ने विषयमा समेत उच्चस्तरीय समिति र सीसीएमसीबीच विवाद आएको थियो । यस्तै सर्वसाधारण मात्रै होइन, उच्चस्तरीय समितिका कामकारवाहीप्रति प्रधानमन्त्री केपी ओलीसमेत सन्तुष्ट रहेकाे र विभागीय मन्त्रीहरूको भन्दा सेनाको काममा ज्यादा निर्भर रहेकाे बताइएकाे छ ।