१. थपिए ५ सय ८६ नयाँ संक्रमित, संक्रमितको संख्या ७ हजार नाघ्याे
नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ८६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको पुष्टि गरे। अाज भेटिएका संक्रमितहरूमा ५ सय ४६ जना पुरूष र ४० जना महिला रहेका छन् । यस्तै कुल संक्रमित मध्ये ६ हजार ६ सय ३८ जना पुरुष र ५ सय ३९ जना महिला छन्।
२. नेपालमा कोराेनाबाट मृत्यु हुनेको संख्या २० पुग्यो
नेपालमा कोरोनाभाइरस (कोभिड– १९) कारण थप एक जनाकाे मृत्यु भएकाे छ । याे सँगै मृत्यु हुनेको संख्या २० पुगेको छ। मन्त्रालयका अनुसार बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ६ की ४६ वर्षीया महिलाकाे नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हाे।
३. सोती घटनाका २१ अभियुक्तको सकियो बयान
चौरजहारी नगरपालिका, सोती घटनामा अभियोग लागेका प्रतिवादीको बयान रुकुम अदालतमा जारी छ। सोमबारदेखि शुरु भएको बयानअन्तर्गत आज थप १० जनाको बयान सकिएको रुकुम अदालतले जनाएको छ। यससँगै आजसम्म २१ जनाको बयान सकिएको छ। पक्राउ परेकामध्ये अब आठ प्रतिवादीको मात्र बयान बाँकी रहेको रुकुम अदालतका स्रेष्तेदार कृतबहादुर बोहराले जानकारी दिए। सोमबार दुई नाबालक र मङ्गलबार नौ जनाको बयान सकिएको थियो।
४. खानेपानी मन्त्रीको दावी : 'असारमा मेलम्चीको पानी टनेलमा टेष्ट गर्नेछौं'
खानेपानीमन्त्री बीना-मगरले मेलम्चीको पानी परीक्षणको काम असारमै हुने बताएकी छिन्। राष्ट्रियसभाको आज बसेको बैठकमा सांसदहरुको प्रश्नको उत्तर दिँदै उनले असारमा परीक्षण सकिएपछि पानी काठमाडौँ झारिने बताइन उनले पानीको वितरणका लागि आवश्यक व्यवस्थापनको काम आयोजना कार्यान्वयन निर्देशनालयले गरिरहेको जानकारी गराइन। पानीको वितरण काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले नै गर्ने उनको भनाइ थियो।
५. सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा
मंगलबार स्थिर रहेको सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार (आज) बुधबार छापावाल सुन प्रतितोला सय रुपैयाँ बढेर ८९ हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ। जुन अहिलेसम्मकै सर्वाधिक हो। यसअघि गत सोमबार छापावाल सुन प्रतितोला ८९ हजार ७ सय रुपैयाँ कायम थियो।
६. खाद्य सामग्री अब निःशुल्क डेलिभरी हुने
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा उपलब्ध सुपथ मूल्यका सामग्री ग्राहकले अनलाइनबाटै माग गरेमा निःशुल्क डेलिभरी गरिने भएको छ। कम्पनीका उपमहाप्रबन्धक मोतिराज ज्ञवालीका अनुसार बन्दाबन्दीको अवस्थामा रोगको सङ्क्रमणको जोखिम हुने भएकाले ग्राहकको सहजताका लागि यसरी सेवा थालिएको हो।
७. नागरिकता विवाद : पाँच दिनभित्र सहमति जुटाउन सरकारलाई निर्देशन
पाँच दिनभित्र नागरिकता विधेयकमा सहमति जुटाउन राज्य व्यवस्था समितिले सरकारलाई निर्देशन दिएकाे छ। नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक संसदकाे राज्य व्यवस्था समितिमा विचाराधिन छ। वैवाहिक अङ्गिकृत नागरिकता विवाद नसुल्झिँदा लामो समयदेखि यो विधेयक समितिमै अल्झिएको छ।
८. पिसिआर परीक्षण बढाउन र बलात्कारमा संलग्न व्यक्तिलाई कारवाही गर्न सांसदहरुको माग
सांसदले कोभिड–१९ को सङ्क्रमणको जोखिमका सन्दर्भमा कैलालीको क्वारेन्टाइनमा रहेकी महिलामाथि बलात्कारमा संलग्न व्यक्तिलाई कारवाही गर्न र पिसिआर परीक्षण बढाउन सरकारको ध्यानाकर्षण गराएका छन्। राष्ट्रियसभाको आजको शून्य समयमा भाग लिँदै नेकपाकी शारदादेवी भट्टले सिङ्गो समाज कोरोनामा जुधिरहेका बेला बलात्कारमा संलग्न व्यक्तिलाई कानूनी दायरामा ल्याएर कडा सजाय दिलाउन सरकारलाई सुझाव दिइन्।
९. ‘मुलुकभर फोरजीकाे सेवा पुग्ने गरी काम भइरहेको छ’ : अर्थमन्त्री खतिवडा
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले आगामी आर्थिक वर्षभित्रै मुलुकभर नै दूरसञ्चारको फोरजीको सेवा पुग्ने गरी काम गरिरहेको जानकारी दिएका छन्। विनियोजन विधेयक, २०७७ अन्तर्गत सञ्चार तथा सूचना प्रविधिमन्त्रालयका विभिन्न शीर्षकमाथि राष्ट्रियसभाको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायतका जिल्लामा फोरजीसेवा विस्तारका लागि सर्वेक्षणको काम भइरहेको बताए।
१०. यी हुन् लकडाउनमा नेपाल भित्रिएका उत्कृष्ट स्मार्टफोनहरू
नेपालमा चैत दोस्रो सातादेखि सुरु भएको लकडाउन अहिलेसम्म जारी छ। यसबाट आर्थिक क्षेत्रमा पुग्ने असर अकल्पनिय हुने अनुमान सुरु भइसकेको छ भने अन्तर्राष्ट्रिय व्यापार पनि निकै घटेको छ। सरकारले जेठ २५ गतेदेखि लकडाउनको मोडालिटी परिवर्तन गर्ने भनिएता पनि यसमा कुनै ठोस कदम चाल्न सकेको छैन। यद्यपी बजारमा चहलपहल भने सुरु भएको छ।