शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा ज्यान गुमाएकी कोरोना सङ्क्रमित महिलाको शव आज व्यवस्थापन गरिएको छ। मस्तिष्कमा समस्या देखिएपछि शिक्षण अस्पतालमा भर्ना भएकी कैलाली जिल्ला, लम्कीचुहा नगरपालिका २ की ४३ वर्षीया महिलाको उपचारका क्रममा यही असार २ गते मृत्यु भएको थियो।
पिसिआर रिपोर्टमा कोरोना सङ्क्रमण पुष्टि भएपछि शव बाँकेमै व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए। उनका अनुसार शव बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित सामुदायिक वनमा नेपाली सेनाको विशेष टोलीले सम्मानका साथ व्यवस्थापन गरेको हो।
शिक्षण अस्पतालमा यसअघि असार १ गते बाँकेको बैजनाथ गाउँपालिकाकी एक महिलाको कोरोना सङ्क्रमणकै कारण ज्यान गएको थियो। उनको शव नेपाली सेनाकै टोलीले बाँके र बर्दियाको सीमा मानखोला नजीकैको जङ्गलमा लगेर बुधबार अन्त्येष्टि गरिएको थियो।