१. एकैदिन थपिए ४ सय २६ नयाँ संक्रमित, संक्रमितकाे संख्या ८ हजार नाघ्याे
पछिल्लो २४ घण्टामा नेपालमा ४ सय २६ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। याे सँगै नेपालमा संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेकाे छ। आज भेटिएका संक्रमितहरूमा ३ सय ३८ जना पुरूष छन् भने ८८ जना महिला रहेका छन्। कुल संक्रमित मध्ये २२ जनाको मृत्यु भइसकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियममित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता जागेश्वर गाैँतमले देशका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताए।
२. पिसिआर मेशिन खरिद प्रक्रिया अघि बढ्यो
तनहुँका चार नगरपालिका र छ गाउँपालिका गरी दशवटै पालिकाको लागत सहभागितामा पिसिआर परीक्षण मेशिन खरिद गर्ने प्रक्रिया अघि बढेको छ । कोभिड–१९ का बिरामी बढ्दै गएको अवस्थामा जिल्लामै पिसिआर मेशिन भए कोरोना परीक्षणमा सहज बनाउन सकिने उद्देश्यले यहाँका पालिकाले मेशिन खरिद प्रक्रिया अघि बढाइएका हुन्।
३. राष्ट्रियसभामा विधेयक स्वीकृत
राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत भएको छ। कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत गरेको सो प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो।
४. जनकपुर-जयनगर रेलमार्ग सञ्चालनको तयारी
बन्दाबन्दीले अन्तिम चौमासिकमा सबै पूर्वाधार निर्माणलाई बाधा पुर्याए पनि रेलमार्ग निर्माण लक्ष्यभन्दा बढी सम्पन्न भएको छ। चालू आवमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ६० किमी रेलमार्ग निर्माण गर्ने लक्ष्य राखेकामा हालसम्म झण्डै ६२ किमी सम्पन्न भइसकेको जनाएको छ।
५. २३६ नेपाली यात्रु बोकेर कोरियन-एअर शनिबार उड्दै
प्रवेशाज्ञा अवधि सकिएर फर्कन नसकेका नेपालीमध्ये २३६ जना शनिबार नेपाल फर्किने पक्का भएको छ। नेपाली राजदूतावास सउलको पहलमा नेपाली यात्रु बोकेर कोरियन एअरको चार्टर्ड विमान केई ९६९५ नेपाल उड्न लागेको हो। नेपाल उड्नेहरूको सूचीमा प्रवेशाज्ञावधि सकिएका तथा तथा नेपाल फर्कनुपर्ने आवश्यकता हेरी सकेसम्म सबैभन्दा बढी आवश्यक भएकालाई प्राथमिकताका साथ समेटिएको छ।
६. दुई जलविद्युत् आयोजना निर्माण हुँदै
सोलुखुम्बु र दोलखा जिल्लामा दुई जलविद्युत् आयोजना निर्माण हुने भएका छन्। सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकामा कूल ९.५ मेगावाट क्षमताको मध्य सोलु खोला जलविद्युत् आयोजना र दोलखाको बिगु गाउँपालिका–७ मा तीन मेगावाट क्षमताको पेगु खोला साना जलविद्युत् आयोजना निर्माण हुन लागेका हुन्।
७.मापदण्ड पालना गरेर मात्रै व्यापार गरः महासङ्घ
विश्व स्वास्थ्य सङ्गठन तथा नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले तोकेको सुरक्षासम्बन्धी न्यूनतम् मापदण्ड पालना गरेर मात्रै उद्योग व्यवसायहरु सञ्चालन गर्न नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले आफू मातहतका व्यवसायीलाई आग्रह गरेको छ । सरकारले लकडाउनलाई सामान्य बनाउँदै लगे पनि कोरोना भाइरसको सङ्क्रमण दिनप्रतिदिन बढ्दै गएकाले महासङ्घका अध्यक्ष नरेश कटुवालले आज एक अपिल सार्वजनिक गर्दै सम्पूर्ण उद्योगी व्यवसायीलाई मापदण्ड पालना गर्न आग्रह गरेका हुन्।
८. सुनको मूल्य अहिले सम्मकै उच्च
अाज साताको अन्तिम दिन शुक्रबार सुनको मुल्यमा एक सय रुपैयाले बृद्धी भएको छ। बिहीबार छापाबाल सुन प्रतितोला ८९ हजार ८ सयमा कारोबार भएको थियो भने आज बढेर ८९ हजार ९ सयमा कारोबार भइरहेको छ। त्यसैगरी, तेजाबी सुनको मूल्य ८९ हजार ४ सय ६० रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।
९. बलात्कारको आरोपमा दुई जना पक्राउ
कैलालीमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। प्रहरीले गौरीगङ्गा नगरपालिकाकी १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा गौरीगङ्गा नगरपालिका–४ बस्ने वर्ष १९ का नवीन सावद र सोही ठाउँका वर्ष २० का चन्द्र सावदलाई पक्राउ गरेको जनाएको छ।
१०. जलेश्वरमा म्याद सकिएका आयुर्वेदिक औषधि वितरण
महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित जिल्ला आयुर्वेद औषधालयले म्याद गुज्रिएको औषधि वितरण गर्दै आएको रहस्य खुलेको छ। सो औषधालयका बारेमा गुनासा आउन थालेपछि जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कामेश्वर यादवको नेतृत्वको टोलीले अनुगमन गर्दा सो भेटिएको हो। विगत पाँच वर्षदेखि तीन महिना अगाडिसम्म म्याद गुज्रिएका १३ बोरा औषधि समेत अनुगमनका क्रममा नियन्त्रणमा लिइएको जनाइएको छ।
११.अफगान सेनाको कारबाहीमा १७ जना तालिबानी लडाकाको मृत्यु
अफगानिस्तानको सरकारी फौजले बिहीबार राति गरेको सैन्य कारबाहीमा कम्तीमा १७ जना तालिबानी लडाकाको मृत्यु भएकाे छ। साथै २० जना घाइते भएका छन्। अफगान रक्षा मन्त्रालयकाे अनुसार पाक्तिया प्रान्तको सरोजाई जिल्लामा गरिएको कारबाहीमा ती लडाका मारिएका हुन्।