१.एकैदिन थपिए ३ सय ३१ नयाँ संक्रमित, कुल संक्रमितकाे संख्या ८ हजार ६ सय ५
पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ३१ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। याे सँगै नेपालमा कुल संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियममित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता जागेश्वर गाैँतमले देशका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा थप ३ सय ३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताए।
२. कोरोना भाइरसबाट विश्वमा ४ लाख ६३ हजार भन्दा बढीको मृत्यु र ८७ लाख ९५ हजार भन्दा बढी संक्रमित
कोरोना भाइरस (कोभिड १९) बाट बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ६३ हजार २ सय ६० पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ८७ लाख ९५ हजार ३२ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ। नेपाली समयानुसार शनिबार साँझसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ४६ लाख ५३ हजार ८ सय २१ जना निको भएका छन्।
३. विदेशी बुहारीलाई सात वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने नेकपाकाे निर्णय
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ। बैठकले विदेशी बुहारीलाई सात वर्ष पछाडि मात्रै अंगीकृत नागरिकता दिने निर्णय गरेको छ। जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले खुलमखुला संसदमा भारतको पक्षपोषण गर्दै अभिव्यक्ति दिन थालेपछि सत्तारुढ नेकपाले यस्तो निर्णय गरेको हो।
४. नेपालकी पहिलो महिला क्याम्पस प्रमुख अंगुरबाबा जोशीको निधन
नेपालकी पहिलो महिला क्याम्पस प्रमुख तथा शिक्षाविद अंगुरबाबा जोशीको निधन भएको छ । शिक्षाविद्, समाजसेवी एवम् पहिलो महिला क्याम्पस प्रमुख जोशीको ८९ वर्षको उमेरमा शनिबार काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको स्रोतले जनाएको छ। उनको आजै आर्यघाटस्थित विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जानकारी दिएको छ । उनको १७ वर्षअघि घाँटीमा क्यान्सर देखिएको थियो।
५. सरकारद्वारा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह
सरकारले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आमनागरिकलाई पुनः आग्रह गरेको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को शुक्रबार बसेको बैठकले बाहिर निस्किनुपर्दा अनिवार्य मास्क प्रयोग गर्न र अनावश्यक भीडभाड नगर्न तथा भौतिक दूरी कायम गर्न आग्रह गरेको छ। बैठकले महामारी नियन्त्रणमा प्रदेश र स्थानीय सरकारले गरेका कामको उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा थप समन्वय गर्दै लैजाने निर्णय गरेको केन्द्रका सदस्य एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।
६. एसइईको कानूनी व्यवस्था परिवर्तन गरिँदै
माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को कानूनी व्यवस्थामा परिवर्तन गरिँदैछ । कोरोना महामारीका कारण हाल स्थगित परीक्षाबारे आगामी वर्षमा पनि माध्यमिक तहको राष्ट्रियस्तरको परीक्षालाई कक्षा १२ मा मात्रै कायम राख्ने गरी विद्यमान कानूनमा संशोधन हुन लागेको हो।
७. भारतमा एकैदिन थपिए झण्डै १५ हजार नयाँ संक्रमित, कुल संक्रमितको संख्या चार लाखको नजिक
भारतमा गएको २४ घन्टामा मात्र १४ हजार भन्दा बढी संक्रमित भेटिएका छन्। भारतमा एकै दिन यतिधेरै मानिस संक्रमित भएको यो पहिलो घटना हाे। शनिबार भारतमा १४ हजार ५ सय १६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हाे। यो सँगै भारतमा संक्रमितको संख्या चार लाखको नजिक पुगेकाे छ।
८. तीन दिनपछि पूर्णरुपमा हटाइयाे नारायणगढ–मु्ग्लिङ सडकखण्डकाे पहिराे
नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा खसेको पहिरो तीन दिन लगाएर पन्छाइएको छ।बुधबार बिहान चार बजेर पन्ध्र मिनेटमा खसेको पहिरो पूर्णरुपमा पन्छाएसँगै शुक्रबार साँझदेखि दुईतर्फी सवारी सञ्चालनमा आएका छन्। नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी ई। शिव खनालका अनुसार केही पहिरो पन्छाउँदै बेलाबेलामा एकतर्फी सवारी आवागमन गरिएको भए पनि पूर्णरुपमा पहिरो पन्छाएसँगै दुईतर्फीरुपमा सवारी आवागमन भएको हो।
९. सुदूरपश्चिमका लागि पिसिआर किट हस्तान्तरण
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कोरिया शाखाले सुदूरपश्चिम प्रदेशका लागि आज पिसीआर किट हस्तान्तरण गरेको छ । एनआरएन कोरिया शाखाका कार्यकारी निर्देशक राजेश रानाले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टमार्फत दुई हजार ५०० थान पिसीआर किट हस्तान्तरण गरेका हुन्। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उक्त किट मन्त्री भट्टलाई स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहको उपस्थितिमा हस्तान्तरण गरिएको जनाइएको छ।
१०.कोरोना रोकथाममा के गर्दैछ स्वास्थ्य मन्त्रालय ?
कोरोना सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढिरहँदा सरकार के गरिरहेको छ ? परीक्षणको दायरा किन व्यापक भएन ? विदेशबाट फर्कने नेपालीको स्वदेश फिर्ता, क्वारेन्टिन र स्वास्थ्य सामग्रीको व्यवस्थापनमा के भइरहेको छ ? स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय कतै आफैभित्र अल्मलिएको त होइन ? कोरोना रोकथाम र नियन्त्रणमा विश्वका शक्तिशाली मानिने मुलुकहरुले गरेका कामसमेत सोचेजस्तो प्रभावकारी नभएका बेला स्वास्थ्य क्षेत्रको समग्र पूर्वाधार विस्तार हुने क्रममा रहेको नेपालमा जनस्तरमा यस्ता प्रश्नहरु उठ्ने गरेका छन्।
११. भारतीय प्रधानमन्त्री मोदीद्धारा रोजगार योजना शुरु
भारतका प्रधानमन्त्री नरेन्द्र-मोदीले शनिबार रोजगार योजना शुरुवात गरेका छन्। विषेश गरी बसाई सरेर आएका कामदारलाइ लक्षित गरि यस्तो योजनाको शुरुवात गरिएको अधिकारीहरुले जनाएका छन्। कोरोनाभाइरसका कारण लकडाउन लागु भएपछि धेरै कामदारहरुको रोजगारी गुमेकाले सरकारले रोजगार योजना शुरु गर्नु परेको हो। सो योजनालाई ‘गरिब कल्याण रोजगार अभियान’ नाम दिइएको छ । यस योजना अन्तर्गत विषेश गरेर ग्रामिण क्षेत्रमा काम गर्नका लागि प्रेरित गरिने भएको छ।