चितवन जिल्लाको कालिका नगरपालिका–१ डेरी चोकमा बोरिङ खन्दै गरेको ठाउँमा सुनजस्तै धातु देखा परेकाे छ। बोरिङ खन्दै गर्दा बालुवामा सुनको जस्तो कण देखिएपछि स्थानीय प्रशासनले सो क्षेत्रमा भइरहेको काम रोकेर सुरक्षित गरेको छ।
जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी र प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईसहितको टोलीले सो ठाउँको स्थलगत निरीक्षण गरेका छन्। प्रजिअ भट्टराईका अनुसार बोरिङ खन्दा आएको बालुवामा सिसा बनाउन प्रयोग हुने धातु सिलिका जस्तो पहेँला कणहरु देखिएका छन्।
हाल एक सय ६० फिट तल बोरिङ खन्दै गर्दा बालुवामा पहेँला कणहरु देखिएका हुन्। उनले काम रोकेर ठाउँ सुरक्षित गर्न भनिएको जानकारी दिए। प्रशासनले यस विषयमा गृहमन्त्रालयलाइ पत्राचार गरेको छ। थप अध्ययनपछि के हो भन्न सकिने प्रजिअ भट्टराईको भनाइ छ।
कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठका अनुसार नगरपालिकाको अनुदानमा स्थानीय टोलले बोरिङ खन्दै गर्दा सुन जस्ता पहेँला वस्तु देखिएपछि स्थानीयवासीले आफूलाई खबर गरेको बताए। आफूले जिल्ला समन्वय प्रमुख र प्रजिअलाई खबर गरेको श्रेष्ठले जानकारी दिए।