१.एकैदिन थपिए ४ सय २१ नयाँ संक्रमित, संक्रमितकाे संख्या ९ हजार नाघ्याे
पछिल्लो २४ घण्टामा नेपालमा ४ सय २१ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। याे सँगै नेपालमा कुल संक्रमितको संख्या ९ हजार २६ पुगेकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियममित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता जागेश्वर गाैँतमले देशका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा थप ४ सय २१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताए।
२.आफुले गरेको आग्रहलाई मजाकमा नउडाउन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले शरीरको प्रतिरोधी क्षमता बढाउन आफूले गरेको आग्रहलाई मजाकमा नउडाउन आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिले सोमबार आयोजना गरेको भर्चुअल कार्यक्रममा प्रधानमन्त्री ओलीले भान्सामा हामीले प्रयोग गर्दै आएका बेसार, अदुवा, मेथीजस्ता मसला औषधिमय भएको कुरा पूर्वज ऋषिमुनी र आयुर्वेदको खोज तथा प्रयोगबाट प्रमाणित भएकाले तिनको प्रयोग बढाउन आग्रह गरे ।
३.कोरोनाबाट थप एकको मृत्यु, मृतकको संख्या २३ पुग्यो
नेपालमा पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता . डा. जागेश्वर गौतमले थप एककाे मृत्यु भएको पुष्टि गरे। प्रवक्ता गौतमका अनुसार गुल्मीको छत्रकोट गाउँपालिका– ५, मैनडाँडाका ६९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
४.मुलुकसामु दोहोरो चुनौती : कोरोना कहरसँगै मनसुनजन्य विपद्
विश्व्यापी कोभिड–१९ को महामारीले इतिहासमै पहिलो पटक जटिल परिस्थितिसँग जुधिरहेको मुलुकसामु मनसुन सक्रिय भएसँगै बहुविपद्को सामना गर्नुपर्ने चुनौती खडा भएको छ । यस चुनौतीकाबीच सम्भावित जनधनको क्षति रोक्न युद्धस्तरकै तयारीमा जुट्नुपर्ने आवश्यकता महसुस गरिएको छ ।
५.एकै दिन ७ सयले बढ्यो सुन : ताेलाकाे ९० हजार ६ सयमा कारोबार
सुनको मूल्यले आइतबार अाज नयाँ रेकर्ड राखेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार एकै दिन ७ सयले बढेर छापावाला सुन प्रतितोला ९० हजार ६ सयमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला ८९ हजार ९ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला सात सय रुपैयाँले बढेर कारोबार भइरहेको हो ।
६.महामारीको जोखिममा समेत घटेन महिला हिंसा
कोभिड–१९ महामारीको जोखिमपूर्ण अवस्थामा पनि मानवअधिकार उल्लङ्घनका घटनामा कमी आउन सकेको छैन । बलात्कारजस्ता जघन्य अपराध अझ बढ्दै गएको देखिएको छ । सरकारले कोभिड–१९ को जोखिम कम गर्न गत चैत ११ गतेदेखि बन्दाबन्दीको घोषणा गरेयता सात वर्षीया बालिकादेखि क्वारेन्टिनमा बसेकी महिलासमेत बलात्कारको शिकार भएका छन् । यस्ता अमानवीय घटना बढ्नुले महामारीजस्तो विपद्मा पनि महिलाहरु झन् आपतमा परेको देखिएको छ ।
७.दुई करोड भ्रष्टाचार अभियोगमा सरकारी कर्मचारीविरुद्ध मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला हुलाक कार्यालय दैलेखका प्रमुख अमरबहादुर मल्लसहित आठ जनाविरुद्ध कर्मचारी नियुक्ति र कार्यालय भवन निर्माणका क्रममा अनियमितता गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।आयोगका अनुसार कार्यालयका प्रमुख मल्ल, नायब सुब्बा सन्तोष गौतम, सहायक कम्प्युटर अपरेटर गणेशबहादुर केसी र तत्कालीन हुलाक सेवा विभागका शाखा अधिकृत श्यामकुमार सिंहको मिलेमतोमा गलत दरबन्दी तयार पारी उनीहरुको नाममा तलब भत्ता समेत लिई भ्रष्टाचार गरेको अभियोग लागेको छ ।
८.कोरोनाबाट विश्वभरी चार लाख ६६ हजारको मृत्यु, ८९ लाख सङ्क्रमित
कोरोना भाइरसका कारण आइतबारसम्ममा विश्वभरी चार लाख ६६ हजारभन्दा बढीको मृत्यु भएको छ । एएफपीले सङ्कलन गरेको विभिन्न देशका आधिकारीक निकायका अधिकारीहरुले दिएको रिपोर्ट अनुसार कोरोनाभाइरसबाट विश्वभरी चार लाख ६६ हजार ८३९ जनाको मृत्यु भएको हो । त्यसैगरी विश्वभरी सङ्क्रमितहरुको सङ्ख्या ८९ लाख २३ हजार ७८ पुगेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।
९.दश महिनामा ३० अर्ब बढीको धितोपत्र बिक्रीको अनुमति
नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेवोन) ले चालू आर्थिक वर्षको १० महिनाको अवधिमा कूल रु ३० अर्ब ८९ करोड बराबरको धितोपत्र बिक्रीका लागि अनुमति दिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत वैशाख मसान्तसम्म धितोपत्र बजारमा भए गरेका काम कारवाहीको जानकारी दिँदै बन्दाबन्दीको अवधिमा समेत शेयर बजारमा आशातित काम भएको पाइएको छ । केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा बोर्डले रु २१ अर्ब ४५ करोड बराबरको ऋणपत्र बिक्रीका लागि अनुमति दिएको छ ।
१०.भारतमा एकै दिन थपिए १५ हजार सङ्क्रमित
भारतमा कोभिड–१९ सङ्क्रमित हुनेको सङ्ख्या एकै दिनमा अत्यधिक देखिएको छ । पछिल्ला केहीदिनमा सार्वजनिक भएका दैनिक विवरणहरुमध्ये आइतबार सवैभन्दा धेरै जना एकै दिनमा सङ्क्रमित भएको जानकारी दिइएको छ । सरकारी अधिकारीहरुले बताएअनुसार, भारतमा पछिल्लो २४ घण्टामा १५ हजार ४१३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।