काठमाडाैं– चीन र भारतबीच उत्पन्न तनावले नेपालको आन्तरिक सुरक्षामा के प्रभाव पार्न सक्छ ? जंगीअड्डामा आइतबार सकिएको पृतनापति समन्वयात्मक बैठकमा उच्च सैनिक अधिकारीबीच यही प्रश्नको सेरोफेरोमा छलफल भयो ।
चीन र भारतका सैनिकबीच सीमा क्षेत्रमा भएको भिडन्त, त्यसले नेपाललगायत क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सुरक्षामा पार्न सक्ने असरबारे छलफल भएको हो । दुई छिमेकी मुलुकका सैनिकबीच लद्दाखको गलवान उपत्यकामा बढेको तनाव, त्यसले नेपाललाई पार्न सक्ने सुरक्षा प्रभावबारे खुलेरै छलफल भएको सैनिक स्रोतले जनाएको छ ।
परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति निकाली वार्ताका माध्यमबाट जारी तनावको समाधान गर्न चीन र भारतलाई आग्रह गरिसकेको छ । नेपालले दुवै छिमेकीलाई सीमा समस्या शान्तिपूर्ण रूपमा सुल्झाउन सुझाव दिएको हो । जंगीअड्डामा भएको पृतनापति बैठकमा पनि चीन–भारत सीमा समस्या र त्यसले नेपाललाई पार्न सक्ने सम्भावित असरको विषयले प्रवेश पाएको हो । बाह्य गतिविधिले नेपालको आन्तरिक सुरक्षामा उत्पन्न गराउन सक्ने चुनौतीबारे बैठकमा छलफल चलेको थियो ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले चीन र भारतबीच बढेको तनावले नेपालमा के कस्तो सुरक्षा चुनौती बढ्न सक्छ ? त्यसको सूक्ष्म विश्लेषण गर्नुपर्ने धारणा राखे । त्यसबाट नेपाललाई पर्न सक्ने असर, त्यसले उत्पन्न गराउन सक्ने चुनौती विश्लेषण गरी सोहीबमोजिम रणनीति र कार्ययोजना तयार पार्न उनले सम्बन्धित विभागलाई निर्देशन दिएका छन् ।
‘प्रधानसेनापति थापाले राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षा वातावरण र त्यसले राष्ट्रिय सुरक्षाका विविध पक्षहरूमा पार्ने प्रतिकूल प्रभाव र असरहरूको सूक्ष्म अध्ययन विश्लेषण गर्दै विकसित परिस्थितिबारे स्पष्ट अवधारणा, रणनीति र कार्ययोजना निर्माण गर्न निर्देशन दिनुभयो’, जंगीअड्डाले बैठकपछि आइतबारै जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।
प्रधानसेनापति थापाले मुलुकको स्वतन्त्रता र अखण्डता जोगाउनका लागि आफ्नो संवैधानिक दायित्व पूरा गर्न नेपाली सेना प्रतिबद्ध रहेको स्पष्ट पारे । सरकारले कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेपछि जंगीअड्डाले औपचारिक रूपमा मुलुकको स्वतन्त्रता, स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्दै आफ्नो संवैधानिक दायित्व निर्वाह गर्न नेपाली सेना प्रतिबद्ध रहेको अभिव्यक्ति दिएको हो ।
उनले राष्ट्रिय स्वार्थ प्राप्तिका लागि अविचलित भएर कर्तव्यपथमा लाग्न मातहतलाई निर्देशन दिए । नेपालले नयाँ नक्सा जारी गरेपछि गत साता प्रधानसेनापति थापा नेपाल–भारत सीमा क्षेत्र अवलोकन गर्न गएका थिए । उनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सांगठनिक हित, कल्याण र राष्ट्रिय स्वार्थ प्राप्तिमा अविचलित भएर लाग्न मातहतलाई निर्देशन दिएका छन् ।
पृतनापति बैठकले कोरोना भाइरस संक्रमणका कारण विदेशबाट फर्किएकाहरूलाई सरकारले सही व्यवस्थापन गर्न सकेन भने उनीहरू भड्किन सक्नेतर्फ सचेत गराएको छ । गतिविधि सञ्चालन गर्न प्रतिबन्ध लगाए पनि नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ता सक्रिय रहेको निष्कर्ष सेनाले निकालेको छ । विदेशबाट फर्किएकाहरूलाई व्यवस्थापन गर्न नसकिए उक्त समूहले प्रयोग गर्न सक्नेबारे सैनिक अधिकारीहरूबीच छलफल भएको छ ।
विभिन्न अभियोगमा विदेशमा जेल बसेका र आममाफी पाएर फर्किएका युवालाई व्यवस्थापन नगरे विप्लव समूहले उपयोग गर्न सक्ने, त्यसले आन्तरिक सुरक्षामा चुनौती बढाउने एक सैनिक अधिकारीले बताए । उनीहरूका गतिविधि निगरानी गर्नुपर्नेमा उच्च सैनिक अधिकारी एकमत देखिएका छन् । विदेशबाट फर्किएका युवालाई व्यवस्थापन गर्न सरकारले तत्काल कार्ययोजना बनाउनुपर्नेमा अधिकांश सैनिक अधिकारीले जोड दिएका थिए ।
पृतनापति बैठक शुक्रबार सुरु भएको थियो । बैठकमा पीएसओज, रथीवृन्द, पृतनापतिहरू, जंगीअड्डाका कार्यालय, विभाग, महानिर्देशनालय र निर्देशनालयका प्रमुखलगायत उपत्यकाका बाहिनीपति सहभागी थिए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा शम्भु कट्टेलले लेखेका छन् ।