१.एकैदिन थपिए ५ सय ३५ नयाँ संक्रमित, संक्रमितकाे संख्या दश हजार नजिक
पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ३५ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियममित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता जागेश्वर गाैँतमले देशका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा थप ५ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताए।
२. बन्दाबन्दीमै पाए २ सय १४ जनाले रोजगारी
बागलुङ नगरपालिकामा यस वर्षको प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत २१४ जनाले रोजगारी पाएका छन्। कोरोना सन्त्रासका बीच जारी बन्दाबन्दीमा सामाजिक दूरी कायम गरी प्रधानमन्त्री रोजगार कार्यक्रम जेठ पहिलो सातादेखि शुरु भएको थियो। सो कार्यक्रमअन्तर्गत पदमार्ग, गोरेटो बाटो, सडक मर्मत तथा सिँचाइ कुलो निर्माण गरिएको छ।
३. अङ्गीकृत नागरिकता सम्बन्धी निर्णय पुनःविचार गर्न माग
राष्ट्रियसभाका सांसदहरुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक र राज्य व्यवस्था तथा सुशासन समितिले अङ्गीकृत नागरिकता सम्बन्धमा गरेको निर्यणप्रति असहमति जनाउँदै पुनःविचार गर्न आग्रह गरेका छन्। सभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद जितेन्द्रनारायण देवले वैवाहिक अङ्गीकृत नागरिकता सम्बन्धमा नेकपा सचिवालयले गरेको निर्णयको असर राज्य व्यवस्था समितिमा परेको र उक्त निर्णय अदूरदर्शी र अपरिपक्व भएको टिप्पणी गरे।
४. पाटन नगरपालिकाका बजार १५ गतेसम्म सिल
कोरोना सङ्क्रमित बढन थालेपछि बैतडीको पाटन नगरपालिका भित्रका बजार क्षेत्रलाई आजदेखि सिल गरिएको छ। सर्वपक्षीय बैठकले नगरका बजार क्षेत्र सिल गर्ने निर्णय गरेको हो। कोरोनाका बिरामी बढ्दै गएपछि सङ्क्रमणको जोखिम बढ्ने भएकाले बजार क्षेत्र सिल गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले जानकारी दिए। लकडाउन खुकुलो भएसँगै बजारमा भीडभाड बढेकाले कोरोनाको जोखिम न्यूनीकरण गर्न उक्त कदम चालिएको हो।
५. सुनको भाउमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?
साताको दोस्रो दिन आज सोमबार सुनको भाउले नयाँ रेकर्ड बनाएकाे छ । आइतबार तोलाको ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढेर तोलाको ९१ हजार रुपैयाँ पुगेको हाे । त्यस्तै तेजावी सुनको भाउ पनि तोलामा ४ सयले नै बढेर ९० हजार ५ सय ६५ रुपैयाँ पुगेको छ।
६. माथिल्लो तामाकोशी : जटिल काम सकिंदै
सरकारले लकडाउन गरेपनि एकाध दिन बाहेक काम नरोकिएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सबैभन्दा महत्वपूर्ण र जटिल निर्माणसम्बन्धी काम यसै साता सकिने भएको छ । राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशीको जटिल मानिएको दुई ठाडो सुरुङको काम समेत लकडाउनको समयमा उल्लेख्य प्रगति मात्रै भएन सम्पन्न नै हुने चरणमा पुगेको छ।
७.मनसुन सक्रिय हुँदा देशभर वर्षा
मनसुन सक्रिय भएसँगै काठमाडौँ उपत्यकासहित देशको अधिकांश स्थानमा वर्षा भइरहेको छ। नेपालको पूर्वी भू–भागबाट प्रवेश गरेको मनसुन देशैभर फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आगामी तीन दिन देशभर बदलीसहित वर्षाको सम्भावना रहेको, वर्षासँगै मौसमी गतिविधि बढ्ने हुँदा आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ।
८. दुबइले जुलाई ७ देखि विदेशीलाई आगमन खुला गर्ने
दुबइले जुलाई ७ देखि विदेशी पर्यटकहरुका लागि आगमन खुला गर्ने जनाएको छ । यहाँको पत्रिका खालिज टाइम्सले सोमबार जनाएको हो। तर यसरी दुबई जाने हरेक विदेशी पर्यटकले हालैमात्र परीक्षण गरेको कोरोना भाइरसको नेगेटिभ रिपोर्ट देखाउनुपर्ने छ। त्यसैगरी दुबई पुगेपछि पनि यहाँको विमानस्थलमा कोरोना भाइरसको परीक्षणको व्यवस्था गरिएको छ र उनीहरुले त्यहाँ पनि परीक्षण गराउनुपर्ने प्रावधान राखिएको छ।
९.कोरोना भाइरसबाट विश्वमा ४ लाख ७० हजार भन्दा बढीको मृत्यु , ९० लाख ५१ हजार भन्दा बढी संक्रमित
कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ७० हजार ८ सय २२ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ९० लाख ५१ हजार ९ सय ४९ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ।
१०. सामसङ ग्यालेक्सी एस २० अल्ट्रा स्मार्टफोन नेपाली बजारमा, यस्तो छ मूल्य र बिशेषता
सामसङले आफ्नो ग्यालेक्सी ‘एस’ सिरिज अन्तर्गतकाे नयाँ स्मार्टफोन ग्यालेक्सी एस २० अल्ट्रा (Galaxy S20 Ultra) नेपाली बजारमा सार्वजनिक गरेको छ। साेहि सिरिज अन्तर्गतका ग्यालेक्सी एस २० र ग्यालेक्सी एस २० प्लस भने यसअघि नै नेपालमा लन्च भइसकेको छ। सामसङ नेपालले गत मार्च महिनामा यी स्मार्टफोनहरू नेपाली बजारमा लन्च गरेकाे थियाे। यी दुई स्मार्टफोनहरू सर्वाधिक बिक्री भए पछि सामसङ नेपालले एस सिरिजकै उत्कृष्ट स्मार्टफोन सामसङ ग्यालेक्सी एस २० अल्ट्रा लन्च गरेकाे हाे।