काठमाडाैं– अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज(बुधबार) बस्ने भएको छ। बिहान ११ बजे प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बैठक बस्ने भएको हो।
एक साता अगाडी प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बिच भएको भेटमा नेकपाभित्र लामो समयदेखि अन्योलमा रहेको एमसिसी परियोजनाबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाउने निश्कर्ष निकलेको थियो। त्यस्तै बैठकमा सरकारका कामको समीक्षा, पार्टीको कामको समीक्षा एवं संगठनात्मक एकीकरणलाई पूर्णता दिने लगायतका एजेण्डा तय भएको छ।
असार १७ गतेसम्म संसदले एमसीसी सम्झौता पारित गर्नुपर्ने छ। सो दिनसम्म सम्झौता पारित भएन र म्याद थप भएन भने एमसिसि स्वतः निश्क्रिय हुनेछ।
एमसीसीबारे अध्ययन गर्न नेकपाले वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र स्थायी समिति सदस्य भीम रावलका साथै अर्थमन्त्री डा. युवराज खतिवडा समेत राखेर कार्यदल बनाएको छ। सो कार्यदलले परिमार्जन नगरी एमसिसी पारित गर्न नुहने सुझाव दिएको थियो।
परराष्ट्र मन्त्री ज्ञवालीले भने १५ बुदें फरक मत राखेका छन्। यसअघि वैशाख २५ र ३१ गते बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको थियो। त्यस्तै एमसीसीबारे छलफल गर्न बोलाइएको सचिवालय बैठक पनि स्थगित भएको थियो।