१.आज मात्रै थपिए ६ सय २९ जना नयाँ संक्रमित, कुल संक्रमितको संख्या १० हजार ७ सय २८
नेपालमा बुधबार थप ६ सय २९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका बिभिन्न प्रयाेगशालामा गरेकाे परिक्षणमा थप ६ सय २९ जना संक्रमित थपिएकाे बताए।आज थपिएकाहरूमा ५ सय २९ जना पुरुष र १ सय १० जना महिला महिला छन् ।यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ।
२.नेकपा स्थायी कमिटी बैठक स्थगित, एमसिसि बारे छलफल भएन
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक केही बेर बसेर सकिएको छ। पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल बोलेपछि बैठक पर्सी (शुक्रबार) सम्मका लागि स्थगित भएको हो। आजको बैठकमा अमेरिकी नियाेगकाे सहयाेग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को बारेमा निर्णय हुने भनिए पनि त्यसबारेमा छलफल भने भएन।
३.क्वारेन्टिनमा बसेका व्यक्तिले गरे आत्महत्या
तनहुँ जिल्लाको घिरिङ गाउँपालिकाका एक व्यक्तिले मङ्गलबार राति आत्महत्या गरेका छन् । सोही गाउँपालिका निवासी ४९ वर्षीय व्यक्तिले पङ्खाको सिलिङमा सुरुवालको पासो लगाई आत्महत्या गरेका हुन्। भारत रोजगारीमा गएका उनी गत असार ४ गते घर आएका थिए।
४. प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन गएका सांसदसहित १० जना पक्राउ
सोती घटनाको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउन गएका सांसदसहित १० जना पक्राउ परेका छन्। संयुक्त दलित राजनीतिक संघर्ष समितिका तर्फबाट ज्ञापनपत्र बुझाउन प्रधानमन्त्री सरकारी निवास बालुवाटार गएका सांसद लक्ष्मी परियारसहितकाे टाेलीमाथी प्रहरीले लाठी चार्जसमेत गरेको छ। त्यसैक्रममा सांसद परियारको औँलामा चोट लागेको छ।
५. कोरोना अपडेटः विश्वभर ४ लाख ८० हजारको मृत्यु
महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर ४ लाख ८० हजारभन्दा बढी मानिसको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। संगठनका अनुसार कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या ९३ लाख ६९ हजार पुगिसकेको छ जसमध्ये करिब ५० लाख मानिस निको भएर डिस्चार्ज भएका छन्। करिब ५८ हजार मानिस अहिले पनि कोरोनाभाइरसको संक्रमणबाट निकै जटिल अवस्थामा छन्।
६. भारतमा एकै दिन झण्डै १६ हजार कोरोना सङ्क्रमित भेटिए
भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको दैनिक संख्या अहिलेसम्मकै सबैभन्दा धेरै देखिएको छ। सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार भारतमा एकै दिन झण्डै १६ हजार जना सङ्क्रमित भेटिएका छन्। भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा १५ हजार ९६८ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको जनाएको छ।
७. विश्व बैंकसँग समझदारीपत्रमा हस्ताक्षर
विश्व बैंकले नेपालको ऊर्जा विकाससँगै कोभिड–१९ को सङ्कट व्यवस्थापनका लागि १० करोड डलर बराबरको आर्थिक सहायता दिने भएको छ। अर्थ मन्त्रालयमा आज विश्व बैंकसँग विकास नीति ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। अर्थ सचिव शिशिरकुमार ढुङ्गाना र विश्व बैंकका नेपालस्थित देशीय निर्देशक फारिस हदाद जार्भोसले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
८. लुकीछिपी नेपाल प्रवेश गरेका ३३ लाई सशस्त्रले पुर्यायो क्वारेन्टिनमा
कोरोना भाइरसविरुद्ध नेपाल–भारत सीमामा खटिएको सशस्त्र प्रहरीले बिनाअनुमति लुकीछिपी सीमानाकाबाट नेपाल प्रवेश गर्नेलाई नियन्त्रणमा लिई क्वारेन्टिनमा राख्ने अभियानलाई जारी राखेको छ। सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर गढीमाई बाहिनी मुख्यालय चितवनको क्षेत्रमा पर्ने सीमानाकामा यस्तो अभियानलाई कडाइका साथ निरन्तरता दिइएको हो।
९.मेक्सिकोमा ७.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प
मध्य अमेरिकी राष्ट्र मेक्सिकोको दक्षिणी क्षेत्रलाई केन्द्रविन्दु बनाएर मंगलबार ७.४ म्याग्नीच्यूडको भूकम्प गएको छ। प्रारम्भिक विवरण अनुसार भूकम्पका कारण छ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्। स्थानीय अधिकारीहरुले भूकम्पबाट जोगिन सयौं मानिस घरबाहिर भाग्नुका साथै स्थानीय तेल प्रशोधन कारखाना पनि बन्द गर्नु परेको बताएका छन्।
१०.दक्षिण अफ्रिकामा ३५ सयभन्दा बढी स्वास्थ्यकर्मी सङ्क्रमित
विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट दक्षिण अफ्रिकामा ३५ सयभन्दा बढी स्वास्थ्यकर्मी नै सङ्क्रमित भएका छन्। देशका स्वास्थ्य मन्त्री ज्वेली एमखिजाले दिएको जानकारीअनुसार देशभरी कूल तीन हजार ५८३ जना स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन्। तीमध्ये ३४ स्वास्थ्यकर्मीको मृत्यु भएको छ।