सुरेन्द्र कुँवर, रत्ननगर, २ फागुन - देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहामा बास बस्न आउने पर्यटकको चाप निकै कम भएको छ। बाह्य पर्यटकको आवागमन हुन नसक्दा अधिकांश होटल ‘बुकिङ’ हुन सकेनन्।
प्रणय दिवसमा समेत पर्यटकको चहलपहल उल्लेख्य बढ्न सकेको छैन।
चितवनकै स्थानीय तहका पर्यटकीय गन्तव्यमा प्रवर्द्धनका कार्यक्रम बढ्न थालेपछि सौराहा रोजाइमा पर्न छाडेको छ। सौराहामा यस महिनामा विदेशी पर्यटक नगन्य मात्रामा भेटिएका छन्। स्वदेशी पर्यटक कार्यक्रममा सहभागिता जनाउन मात्रै आउने गरेको पाइन्छ।
विगतमा भ्यालेन्टाइन डे (प्रणय दिवस)मा निकै खचाखच हुने सौराहा यसपालि तङ्ग्रिन सकेको छैन। युगल जोडी, परिवार र साथीभाइ मिलेर सौराहामा प्रणय दिवस मनाउने क्रममा मन्दी लागेको छ। पर्यटकलाई आकर्षित गर्न भ्यालेन्टाइन डेका अवसर पारी रेस्टुरेन्ट एन्ड बार एशोसिएशन सौराहा (रेवान)ले खाना महोत्सव आयोजना गर्दै आएको छ।
सौराहामा आयोजित खाना महोत्सवका संयोजक ध्रुव गिरीले भ्यालेन्टाइन डेमा आयोजित सांस्कृतिक कार्यक्रम र खाना महोत्सवमा रमाउन आन्तरिक पर्यटक आए पनि बास बस्न आउने पर्यटक कम रहेको बताए।
“पर्यटक ल्याउन गरेका कार्यक्रमले पनि चहलपहल दिन सकेन,” उनले भने, “दिनभरि खचाखच हुन्छ, साँझ परेपछि सुनसानजस्तै बन्छ।” सौराहा प्रणय दिवसलाई लक्ष्य गरी सजाइएको छ। यहाँ प्रेमपत्र लेखन, भलिबल, पर्यटक दौड, बेलुन उडाउनेलगायत प्रतियोगिता हुँदैछन्।
क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेले पर्यटकको चाप बढ्न नसकेको दुखेसो गरे। “होटल बुकिङ त्यति साह्रो छैन, बेलुकासम्म चहलपहल बढ्छ कि भन्ने आशा छ,” उनले भने, “फूड फेस्टिभलले केही सहयोग गर्छ भन्ने सोच हो तर बाह्य पर्यटक आकर्षित हुन सकेनन्।”
उनका अनुसार यो मौसम विदेशी पर्यटक नेपाल आउने ‘अफसिजन’ भएकाले त्यसको प्रभाव परेको हुनसक्ने बताए। सौराहामा केही वर्षयता हात्ती महोत्सव, खाद्य महोत्सवलगायत कार्यक्रम आयोजना गर्दै पर्यटक तान्ने प्रयास भइरहेका छन्। अहिलेको भ्यालेन्टाइन डे बिदामा नपर्नु र अन्य ठाउँमा हिउँ परेकाले पनि आन्तरिक पर्यटक चारैतिर बाँडिएको हुनसक्ने उनी बताउँछन्।
पर्यटनविद् विश्व सुवेदीका अनुसार पहिले पर्यटक सौराहा, मेघौली, पटिहानी र देवघाट पुग्ने गरे पनि अहिले त्यस्तो अवस्था छैन। “इको टुरिज्म मन पराउनेहरू आजभोलि होमस्टेमा जान मन पराउँछन्,” उनले भने, “चितवन भित्रिने पर्यटकमध्ये ३८ प्रतिशत पर्यटक दोहोरिएर सौराहा जाँदैनन्।”
उनका अनुसार आन्तरिक पर्यटकसमेत चितवनका अन्य गन्तव्यतर्फ जाने क्रम बढेको छ। चितवनमा ५५ नयाँ पर्यटकीय गन्तव्य पहिचान भएर प्रवर्द्धनका कार्यक्रम हुन थालेका छन्। चितवनको सौराहामा ६० रेस्टुरेन्ट र ११० होटल सञ्चालनमा छन्।