१.थपिए ४ सय ३४ जना नयाँ संक्रमित, संक्रमितको संख्या ११ हजार नाघ्याे
नेपालमा बिहिबार थप ४ सय ३४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका २२ वटा प्रयाेगशालामा गरेकाे परिक्षणमा थप ४ सय ३४ जना संक्रमित थपिएकाे बताए ।अाज थपिएकाहरूमा ३ सय ८६जना पुरुष र ४८ जना महिला महिला छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ ।
२.पोखरामा थप एक जना कोरोना संक्रमितको मृत्यु
नेपालमा थप एक जनाको कोरोना भाइरसबाट मृत्यु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचाररत ५५ वर्षीय कोरोना संक्रमित पुरुषको बुधबार राति मृत्यु भएको हो। स्याङ्जाको सिरुवारी निवासी पुरुषको गएराति ११ः३५ बजे मृत्यु भएसँगै नेपालमा काेराेना बाट मृत्यु हुनेकाे संख्या २५ पुगेकाे छ।
३. चीनसँग सीमा विवाद नरहेको परराष्ट्र मन्त्रालयकाे दाबी
सरकारले चीनसँग कुनैपनि सीमा विवाद नरहेको बताएकाे छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै चीनले सीमा अतिक्रमण गरेको कुरामा सत्यता नभएको बताएको हो। चीनले नेपालको विभिन्न जिल्लामा गरी ३३ हेक्टर जमिन अतिक्रमण गरेको समाचार सार्वजनिक भए पछि बिहीबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरि त्यसकाे खण्डन गरेकाे हाे ।
४.यात्रु ओसारपसार नगर्न आग्रह
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घलले बन्दाबन्दीको समयमा सार्वजनिक सवारी साधनबाट यात्रु ओसारपसार नगर्न आग्रह गरेको छ । महासङ्घका महासचिव पुण्यप्रसाद सिटौला (सरोज)ले बुधबार साँझ एक विज्ञप्ति जारी गरी बन्दाबन्दी कायमै रहँदा महासङ्घको नाम जोडेर आफुखुशी सार्वजनिक सवारी साधन सञ्चालन गरेकोमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
५.राष्ट्रियसभामा गृहमन्त्रीको जवाफ माग
राष्ट्रियसभाको बैठकमा सांसदले बुधबार प्रधानमन्त्री निवास बालुवाटार नजिक धर्नामा बसेका दलित नेतालाई प्रहरीले धरपकड गरेकोप्रति विरोध जनाएका छन् ।आजको बैठकको शून्य समयमा नेपाली काँग्रेसका प्रकाश पन्थले सोती घटनाका दोषीलाई कारवाही गर्नुपर्ने माग गर्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिएका दलित नेतालाई लाठी प्रहार गरी घाइते बनाइएको बारे गृहमन्त्रीले सदनमा जवाफ दिन माग गरे ।
६.‘ट्राभल हिस्ट्री’ नभएकामा कोरोना देखिदै
सुर्खेत कालागाउँस्थित प्रदेश अस्पतालका पाँच स्वास्थ्यकर्मीमा आइतबार कोरोना सङ्क्रमण पुष्टि भयो । आकस्मिक कक्षमा उपचार गराइरहेका तीन जना बिरामीमा कोरोना पोजेटिभ देखिएपछि उपचारमा प्रत्यक्ष संलग्न तथा उनीहरूको नजिक रहेर काम गरिरहेका ४२ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखियो ।
७. राष्ट्रपतिद्वारा तीन वटा विधेयक प्रमाणीकरण
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका तीन विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेकि छिन् । आज प्रमाणीकरण गरिएका विधेयकमा शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्न विधेयक, खेलकूद विकाससम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक एवं रेडियोधर्मी पदार्थको उपयोग तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक रहेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले जानकारी दिएका छन् ।
८. संसदमा हिन्दी भाषा बोल्नुको कारण पेश गर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले संसदमा हिन्दी भाषा बोल्नुको कारणसहित १५ दिनभित्र लिखित जवाफ पेश गर्न प्रतिनिधिसभा र राष्ट्रिय सभालाई निर्देशन दिएको छ। न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले संसद्मा नेपाली भाषा बोल्न विधायकलाई किन नलगाएको भन्दै कारणसमेत मागेका छन्। सांसदहरु सरिता गिरी र अमृता अग्रहरीले पटक पटक हिन्दीमा बोल्ने गरेका छन् । नेपालको सरकारी काम कारबाहीको भाषा नेपाली हुने भनिए पनि हिन्दीमा बोल्नु गैरसंवैधानिक भएको रित निवेदकहरुले जिकिर गरेका छन् ।
९. कोरोना अपडेट : विश्वभर ४ लाख ८५ हजारको मृत्यु
हामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर ४ लाख ८५ हजारभन्दा बढी मानिसको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । संगठनका अनुसार कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या ९५ लाख ४३ हजार पुगिसकेको छ जसमध्ये करिब ५२ लाख मानिस निको भएर डिस्चार्ज भएका छन् । करिब ५८ हजार मानिस अहिले पनि कोरोनाभाइरसको संक्रमणबाट निकै जटिल अवस्थामा छन् ।
१०. चट्याङ लागेर दुई महिलाको मृत्यु, एक घाइते
अविरल वर्षासँगै परेको चट्याङ लागेर मकवानपुरमा दुई जना महिलाको आज मृत्यु छ । मृत्यु हुनेमा मकवानपुर बकैया गाउँपालिका–२ का बुद्ध घिसिङको १७ वर्षीया छोरी सम्झना घिसिङ र आशालाल घिसिङकी २५ वर्षीया श्रीमती विना घिसिङ रहेको प्रहरीले जनाएको छ । सम्झाना घरमै बसिरहेको अवस्थामा र विनाको स्थानीय दोभान स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै स्थानीय पूर्णबहादुर जिम्बाको घाइते १४ वर्षीय छोरा किरण जिम्बाको सो स्वास्थ्य चौकीमा उपचारको लागि भर्ना गरिएको छ ।