काठमाडौं - टोखा नगरपालिकामा तीन वर्षको अवधिमा विभिन्न घटनाका १०६ उजुरी परेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिकामा आर्थिक वर्ष २०७४/०७५ मा ३१, आव २०७५/०७६ मा ३६ र आव २०७६/०७७ मा ३९ उजुरी दर्ता भएका हुन् । टोखा नगरपालिका न्यायिक समितिका सदस्य एवं टोखा नगरपालिका–७ का वडासदस्य गोपी पाठकले नगरपालिकामा घरेलु हिंसा, जग्गा जमिन मिचिएको, बाटोको झगडा सम्बन्धि बढी उजुरी पर्ने गरेको जानकारी दिए।
टोखा नगरपालिकाले उजुरी परेका १०६ मध्ये २४ उजुरीको फैसला गरिसकेको छ । यस्तै, मुताविकमा १६, काठमाडौँ जिल्ला अदालत पठाएको पाँच, मेलमिलाप गरिएको २०, लगत कट्टा गरिएको १५ र कारवाही प्रक्रियामा रहेको २६ उजुरी छन् ।
न्यायिक समितिका संयोजक एवं नगरपालिकाकी उपप्रमुख ज्ञानमाया डङ्गोलले बाँकी मुद्दाको पनि चाँडो टुङ्गो लगाउने गरी नगरपालिकाले काम गरिरहेको बताइन् । “हामी निरन्तर छलफलमा छौँ, बन्दाबन्दीका कारण र उजुरी परेका केही व्यक्ति नगरपालिकाभन्दा बाहिर रहेकाले केही मुद्दा टुङ्ग्याउन बाँकी छ”, उनले भनिन् ।
टोखा नगरपालिकाको इजलास हप्ताको हरेक सोमबार बस्दै आएको छ । धेरै मुद्दा भएको समयमा लगातार दुई/तीन दिनसम्म समेत इजलास बस्ने गर्दछ । टोखाले अब हप्ताको दुई दिन इजलास बस्ने गरी गृहकार्यसमेत अगाडि बढाएको छ । उपप्रमुख डङ्गोलले नयाँ आर्थिक वर्षको शुरुवातसँगै सबै मुद्दा टुङ्ग्याउने गरी नगरपालिकाले काम गरिरहेको स्पष्ट पारिन् । रासस