तनहुँ – गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर-चुमानले विभिन्न आइसोलेशन तथा क्वारेन्टिनहरुको स्थलगत अवलोकन गरेका छन्। उनले गण्डकी प्रदेशको प्रवेशद्वार तनहुँ जिल्लाको आबुँखैरेनी, मुग्लिनपुलनेर निर्माणाधीन अस्थायी प्रहरीचौकीको स्थलगत अवलोकनका साथै नवलपरासी(बर्दघाट सुस्तापपूर्व)का विभिन्न स्थानमा रहेका अस्पताल तथा आइसोलेशन वार्डको समेत अवलोकन गरे ।
गण्डकी प्रदेशमा दिनप्रतिदिन कोरोना भाइरसबाट सङ्क्रमित बढ्दै गइरहेका अवस्थालाई ध्यान दिँदै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक घनश्याम अर्याल, सुरक्षा निकायका प्रतिनिधि तथा स्वास्थ्य विशेषज्ञसहितको सहभागितामा मन्त्री चुमानले बिहीबार स्थलगत अवलोन गरेका हुन् । मन्त्री चुमानले गण्डकी प्रदेशको एक मात्र तराई तथा भारतीय सीमावर्ती जिल्ला नवलपरासी (बर्दघाट सुस्तापूर्व) का विभिन्न स्थानमा रहेका क्वारेन्टाइन तथा आइसोलेशन वार्ड तथा प्राकृतिक चिकित्सालय रजहर र मध्यविन्दु जिल्ला अस्पताल डण्डामा निर्मित आइशोलेशन वार्डको स्थलगत अवलोकन गर्दै खटिएका स्वास्थ्य र सुरक्षाकर्मी तथा सरोकार निकायसँग छलफल एवं अन्तरक्रिया गर्दै प्रदेशमा भाइरसको प्रकोप बढ्न नदिन नवलपरासीपूर्वको भारतीय नाकाबाट हुनसक्ने अवैध आवागमन रोक्नुपर्नेमा जोड दिए ।
राजमार्गमा समेत कडाइका साथ जाँच गर्न तथा आइशोलेसन वार्डमा रहेका सङ्क्रमितको उचित रेखदेख र परामर्शको व्यवस्था मिलाउन पनि उनले निर्देशन दिए । उनले नागरिकको स्वास्थ्य सुरक्षाप्रति प्रदेश सरकार संवेदनशील रहेको बताउँदै आवश्यक सहयोगका लागि सरकार तत्पर रहेको आश्वासन दिए । रासस