हेलमेट लोड गरिएको ट्रकमा लुकाईछिपाई नेपाल भित्र्याइएको अवैध कपडा राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको छ। भैरहवा नाका हुँदै नेपाल भित्रिएको यूपी ७८ सिएन ३४६५ नम्बरको भारतिय ट्रकमा ‘फल्स बक्स’ बनाई अवैध रुपमा नेपाल भित्र्याइएको ६० बोरा कुर्ता सुरवाल र साडि राजश्व अनुसन्धानको टोलीले नियन्त्रणमा लिएको हो।
‘‘ट्रकमा ड्राइभरको केबिनपछाडी दुई–ढाई फिटको फल्स बटम बनाई त्यसैमा कपडा लुकाइएको रहेछ’’ विभागका महानिर्देशक दिर्घराज मैनालीले भने, ‘‘सुराकीको आधार ट्रक नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेका छौ।’’ कपडाको बजार मुल्य ५० लाख हाराहारी रहेको उनले अनुमान लगाए।
काठमाडौं यूएन पार्क नजिकैबाट हेलमेट अनलोड गरिरहेको अवस्थामा असार ९ गते साँझ ७ः३० बजे ट्रक नियन्त्रणमा लिइएको हो। ‘‘यसमा ठुलै समुहको संलग्नता रहेको देखिन्छ’’, महानिर्देशक मैनालीले भने, ‘‘हामीले यसबारे गम्भिर छानविन गरिरहेका छौँ।’’
ड्राग इन्टरप्राइजेज नामक कम्पनीले हेलमेट आयात गरेको महानिर्देशक मैनालीले जानकारी दिए। ‘‘त्यो हेलमेट गोदाम पनि शिल गरेका छौ’’, उनले भने, ‘‘हेलमेट आयातकर्ताको भने यसमा संल्गनता देखिएको छैन।’’