काठमाडौं - प्रधानमन्त्री निवास बालुवाटरमा जारी सत्तारुढ नेपाल कम्युष्टि पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आजका लागि सकिएको छ। अर्काे बैठक भोलि बिहान ११ बजे बस्ने प्रधानमन्त्रिका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए। उनका अनुसार आज दोस्रो दिनको बैठकमा १८ जना सदस्यहरूले नेपालको सीमा समस्या र समाधानका बारेमा आआफ्नो धारणा राखेका छन् ।
बैठकमा लीलामणि पोखरेल,मातृका यादव, देव गुरूङ, गोकर्ण विष्ट, शंकर पोखरेल, पम्फा भुसाल, छविलाल विश्वकर्मा, बेदुराम भुसाल, रघुवीर महासेठ, अमृतकुमार बोहरा, भीम रावल, अष्टलक्ष्मी शाक्य, भीम आचार्य, केशव बडाल, गणेश साह, मुकुन्द न्यौपाने र नारयणकाजी श्रेष्ठले आफ्ना धारणा राखेका थिए ।
बैठकको शुरूमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कालापानी, लिपुलेक र लिम्पियाधुराको अतिक्रमित भूमि फिर्ता गर्न सरकारले पहल गरिरहेको, तर भारतले वार्ताको सकारात्मक तत्परता नदेखाइरहेको जानकारी गराउँदै कूटनीतिक पहलद्वारा नै समस्याको समाधान गरिने उल्लेख गरे । उनले चीनद्वारा नेपाली भूमि अतिक्रमण भएको भन्ने झूठो, नियोजित र भ्रामक प्रचारमा कुनै सत्यता नभएको र चीनसँग सीमाको सम्बन्धमा कुनै समस्या नरहेको पनि स्पष्ट गरे ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी थिएनन्। उनले आफू अरू नै काममा व्यस्त भएको भन्दै बैठक चलाउने जिम्मा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएका थिए। नेकपाको स्थायी कमिटी बैठक बुधबार सुरु भएको थियो।