काठमाडाैं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसबाट बच्न सकिने कुनै पनि प्रकारको कार्ड, डिभाइस वा जन्तर नबनेको जनाएकाे छ । शनिबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमण नियन्त्रणका लागि आहिलेसम्म कुनै पनि औषधिको विकास नभएको भन्दै भ्रम नफैलाउन आग्रह गरे ।
‘कोरोना भाइरस नियन्त्रणका लागि अध्ययन अनुसन्धानमा संसारभरका वैज्ञानिकहरु जुटिरहेका छन्। अहिलेसम्म त्यस्तो कुनै औषधि फेला परेको छैन। त्यस्तो कुनै डिभाइस वा कार्ड फेला परेको छैन,' उनले भने। मन्त्रालयले कार्डको बारेमा भ्रम सिर्जना गर्ने व्यक्तिलाई कारबाही गर्नसमेत मन्त्रालयले सम्बन्धित निकायलाई अनुरोध गरेको छ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटी बैठकमा पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले स्थायी कमिटी सदस्यहरुलाई ‘भाइरस ब्लकर डिसइन्फेक्सन कार्ड’ बाँडेका थिए । यसलाई नेकपा नेताहरुले कोरोना जन्तर भन्दै घाँटीमा भिरेर हिँडेका थिए। यसैप्रति लक्षित गरेर स्वास्थ्य मन्त्रालयले प्रष्टीकरण दिएको हो।