नयाँ दिल्ली - भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको संख्या प्रतिदिन बृद्धि हुदै गएको छ । विश्वभरी महामारीका रूपमा फैलिएको महामारीबाट भारतमा संक्रमितको संख्या बढ्ने क्रम जारी रहेको देखिएको छ । कतिपय देशहरुमा संक्रमितको संख्या घटे पनि भारतमा भने झन् झन् बढ्दै गइरहेको भन्दै स्वास्थ्य क्षेत्रमा कार्यरत भारतीय अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् । सरकारी अधिकारीहरुले आइतबार विहान दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा १९ हजार ९०६ जना संक्रमित भएका हुन् ।
योसँगै भारतमा कुल संक्रमितको संख्या पाँच लाख २८ हजार ८५९ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको संख्या दुई लाख तीन हजार ५१ पुगेको छ । त्यसैगरी कोरोनाभाइरसबाट संक्रमित भएर पनि संक्रमणमुक्त भई घर फर्केकाहरुको संख्या तीन लाख नौ हजार ७३१ पुगेको अधिकारीहरुले जनाएका छन् ।
भारतमा पछिल्लो २४ घण्टामा मात्रै कोरोनाभाइरसका कारण ४१० जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । योसँगै कुल मृतकको संख्या १६ हजार ९५ पुगेको जनाइएको छ । कोरोनाभाइरसबाट सवैभन्दा प्रभावित महाराष्ट्र प्रदेशमा मात्रै अहिलेसम्म एक लाख ५९ हजार १३३ जना संक्रमित भएका छन् । त्यसैगरी केन्द्रीय राजधानी समेत रहेको दिल्ली प्रदेशमा भने ८० हजार १८८ जना संक्रमित भएको जनाइएको छ । रासस