काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको सम्पूर्ण भूभाग समेटेर नयाँ नक्सा छापेबाफत दिल्ली र नेपालका शक्ति मिलेर आफूलाई प्रधानमन्त्री पदबाट हटाउन खाेजेकाे बताएका छन् ।
मदन भण्डारी फाउण्डेशनले बालुवाटारमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने ‘नेपालको राष्ट्रियता यति कमजोर छैन, नक्सा छापे वापत देशको प्रधानमन्त्री हटाउँछु भन्ने नसोचे हुन्छ।’
उनले आफू अहिले आफ्ना लागि नभई देशका लागि र आजका लागि नभई भोलिका लागि प्रधानमन्त्रीमा रहिरहेको बताए ।
उनले मदन भण्डारीको विचारले समाजलाई यहाँसम्म ल्याएको पनि बताए। नेकपा अध्यक्षसमेत रहेका उनले भने, “जनताको शासन बनाउन मदन भण्डारी लड्नुभएको थियो, अहिले हामीले त्यो प्राप्त गरेका छौं।”