१.थप ४ सय ६३ जनामा कोरोना संक्रमण, कुल संक्रमित संख्या १२हजार ७ सय ७२ पुग्याे
नेपालमा आईतबार थप ४ सय ६३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका बिभिन्न प्रयाेगशालामा गरेकाे परिक्षणमा थप ४ सय ६३ जना संक्रमित थपिएकाे बताए । आज थपिएकाहरूमा ३ सय ५८ जना पुरुष र १ सय ५ जना महिला रहेका छन् । यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ ।
२.कोभिड–१९: विश्वभर एक सय ५८ नेपालीको मृत्यु
कोभिड–१९ को सङ्क्रमणबाट हालसम्म विश्वभर एक सय ५८ नेपालीको मृत्यु भएको छ भने विदेशमा २६ हजार दुई सय २७ जनामा भाइरस सङ्क्रमणको पुष्टि भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अनुसार विदेशमा रहेका १८ हजार ७०० नेपालीली सङ्क्रमण मुक्त भएका छन् भने खाडी मुलुकमा रहेका आठ हजारभन्दा बढी नेपालीमा सङ्क्रमण भेटिएको छ ।
३. भारतमा कोभिड–१९ बाट एकैदिनमा झण्डै २० हजार संक्रमित
भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको संख्या प्रतिदिन बृद्धि हुदै गएको छ । विश्वभरी महामारीका रूपमा फैलिएको महामारीबाट भारतमा संक्रमितको संख्या बढ्ने क्रम जारी रहेको देखिएको छ । कतिपय देशहरुमा संक्रमितको संख्या घटे पनि भारतमा भने झन् झन् बढ्दै गइरहेको भन्दै स्वास्थ्य क्षेत्रमा कार्यरत भारतीय अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् । सरकारी अधिकारीहरुले आइतबार विहान दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा १९ हजार ९०६ जना संक्रमित भएका हुन् ।
४. भारत र नेपालका शक्ति लागेर मलाई हटाउन खोजिँदैछ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको सम्पूर्ण भूभाग समेटेर नयाँ नक्सा छापेबाफत दिल्ली र नेपालका शक्ति मिलेर आफूलाई प्रधानमन्त्री पदबाट हटाउन खाेजेकाे बताएका छन् । मदन भण्डारी फाउण्डेशनले बालुवाटारमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने ‘नेपालको राष्ट्रियता यति कमजोर छैन, नक्सा छापे वापत देशको प्रधानमन्त्री हटाउँछु भन्ने नसोचे हुन्छ।’
५. सुनको भाउमा नयाँ रेकर्ड, ताेलाकाे ९१ हजार ३ सय पुग्यो
साताको पहिलो दिन आइतबार आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य हालसम्मकै उच्च रहेकाे जनाएकाे छ । शुक्रबार तोलामा ९० हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा ७०० रुपैयाँले बढेर ९१ हजार ३०० रुपैयाँ पुगेको हो। यसअघि असार ११ गते सुनको मूल्य तोलामा ९१ हजार १०० रुपैयाँ पुगेको रेकर्ड बनेको थियो ।
६.सवारी पासका लागि दिइने निवेदनको ढाँचा सार्वजनिक
जिल्ला-प्रशासन-कार्यालय काठमाडौंले उपत्यका बाहिर जान लिनुपर्ने सवारी पासका लागि दिइने निवेदनको ढाचा सार्वजनिक गरेको छ। अबदेखि यहीँ ढाँचाअनुसार निवेदन दिइए मात्र सवारी पास पाउने बताएको छ। ढाँचामा नाम, उमेर, लिङग, स्थायी ठेगाना र सम्पर्क नम्बर लेख्नुपर्नेछ। त्यस्तै जाने स्थान, जाने मिति, सवारी साधनको किसिम, नं, सवारी धनीको नाम, चालकको नाम पनि उल्लेख गर्नुपर्नेछ।
७. सलह कीरा नियन्त्रण गर्न कार्ययोजना तयार
प्रदेश नं २ सरकारले सलह कीराका कारण अन्नबालीमा हुने नोक्सानबाट जोगिन र सो कीरालाई नियन्त्रणका लागि कार्य योजना तयार गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा विमल निर्मलको नेतृत्वमा तेलबाली अनुसन्धान केन्द्र सर्लाहीका प्रमुख विशेश्वर यादव, प्रदेशका कृषि विकास निर्देशनालय र पशुपक्षी तथा मत्स्यविकास निर्देशनालयका निर्देशकसहितको टोली स्थलगत अवलोकन तथा निरीक्षण गरी नियन्त्रणका उपायबारे किसानसँग अन्तक्र्रिया गरी कार्ययोजना तयार गरेको हो ।
८. लगातार वर्षाले जनकपुर जलमग्न
शनिबार राति परेको वार्षाले जनकपुर जलमग्न भएको छ । सरोकारवाला निकायले पानीको उचित निकास गर्न नसक्दा यहाँको अधिकांश क्षेत्र जलमग्न भएको हो । जनकपुरका भानु, विद्यापति, विश्वकर्मा, कदमचोक, मिल्स एरिया, प्रादेशिक अस्पताल सडक,अस्पताल परिसरका सडक जलाशयमा परिणत भएका छन् ।
९. सिद्धार्थ राजमार्ग सडक अवरुद्ध
अविरल वर्षाका कारण सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्र नजीकै पहिरो खस्दा आज सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गको पाल्पा–बुटबल सडकखण्डको तिनाउ गाउँपालिका– ३ सिद्धबाबा नजीकै पहिरो खस्दा सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए।
१०. राप्रपा सचिवालयमा नौ जना मनोनीत
राष्ट्रिय प्रजातन्त्र पार्टीको विधानबमोजिम अध्यक्षत्रयले केन्द्रीय सचिवालय सदस्यमा नौ जनालाई मनोनयन गरेका छन् । मनोनीत हुनेमा नीलकण्ठ काफ्ले (नवलपुर), भक्तिप्रसाद सिटौला (झापा), भरत रायमाझी र इन्द्र चित्रकार (काठमाडौँ), राजाराम बर्तौला (मकवानपुर), बाबुराम बस्नेत (भोजपुर), रामशरण पाठक (चितवन) भरतप्रसाद पाठक (नुवाकोट) र मीना शाही (ललितपुर) हुनुभएको पाटी प्रेस विज्ञप्तिमा जनाइएको छ ।