काठमाडाैं– राष्ट्रियसभा बैठकले “सङ्घ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७५ माथि प्रतिनिधि सभाबाट भएको संशोधन उपर विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट उक्त प्रस्ताव कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत गरेका थिए ।
बैठकले अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेका “नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, २०७५ माथि प्रतिनिधि सभाबाट भएको संशोधन उपर विचार गरियोस्” भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा प्रतिवेदन पेश यसैगरी बैठकमा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले “राष्ट्रिय महत्वका दस्तावेज अभिलेख व्यवस्थापन सम्बन्धी प्रतिवेदन, २०७७” सभा समक्ष पेश गरे।
बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०७६, खेलकूद विकास सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७६ र रेडियोधर्मी पदार्थको उपयोग तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७ प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए। राष्ट्रियसभाको अर्काे बैठक यही असार १७ दिउँसो १ बजे बस्नेछ । रासस