१. साउन ७ गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय
सरकारले लकडाउनकाे अवधि साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले अहिलेकै मोडलको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको हाे। कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि गत चैत ११ गतेदेखि सुरु भएकाे देशब्यापी लकडाउन असार १ देखि भने खुकुलो बनाइएको छ।
२. काठमाडाैं उपत्यका प्रवेशमा कडाइ, स्थानीय तहबाट सिफारिस लिएर आउनुपर्ने
सरकारले अनिवार्य होम क्वारेन्टिनमा बस्ने व्यक्तिलाई मात्रै उपत्यका भित्रिन दिने भएको छ। कोभिड–१९ सङ्कट व्यवस्थापन सेन्टर (सिसिएमसी) को आजको बैठकले होम क्वारेन्टिन बस्ने प्रतिबद्धतासहित स्थानीय तहबाट सिफारिस लिएर आउनेलाई मात्रै उपत्यका भित्रिन दिने निर्णय गरेको हो।
३. कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु, मृतकको संख्या २९ पुग्यो
नेपालमा कोरोनाको कारण थप १ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा रौतहत, फतुवा विजयपुर ७ का ३० वर्षीय युवा रहेका छन् ।
४. थप ४ सय ७६ जनामा कोरोना संक्रमण, कुल संक्रमित संख्या १३ हजार नाघ्याे
नेपालमा साेमबार थप ४ सय ७६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका बिभिन्न प्रयाेगशालामा गरेकाे परिक्षणमा थप ४ सय ७६ जना संक्रमित थपिएकाे बताए । आज थपिएकाहरूमा ३ सय ६४ जना पुरुष र १ सय १२ जना महिला रहेका छन् । यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ ।
५.कोरोना अपडेट : विश्वमा पाँच लाख ४ हजार बढीको मृत्यु, कति पुगे संक्रमित ?
कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ४ हजार ४९१ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड २ लाख ४९ हजार ८४० जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।नेपाली समयानुसार सोमबार मध्याह्नसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ५५ लाख ५७ हजार ९८० जना निको भएका छन् ।
६. नेपाल–चीनबीच सीमा विवाद छैनः मन्त्री ज्ञवाली
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–चीनबीच सीमासम्बन्धमा विवाद नरहेको स्पष्ट पार्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विशेष समय लिएर उहाँले केही सञ्चारमाध्यमले नेपालको भू–भाग चीनले अतिक्रमण गरेको भन्ने ‘फेक न्यूज’ सम्प्रेषण गरेको भन्दै दुई देशको सम्बन्धलाई असर पर्ने गरी समाचार सम्प्रेषण नगर्न आग्रह गरे ।
७. विज्ञ भन्दछन –सलहको सङ्ख्या वृद्धि हुने सम्भावना न्यून
अण्डा पार्ने र बच्चा हुर्काउन आवश्यक वातावरण नभएका कारण नेपाल प्रवेश गरेका सलह किराको सङ्ख्या वृद्धि हुने सम्भावना न्यून रहेको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयका किट विज्ञान विभागकका प्रमुख प्रा. डा. सुन्दर तिवारीका अनुसार सो प्रजातिका किरालाई अण्डा पार्न वालुवाले ढाकेको ठूलो क्षेत्र र गर्मी मौसम आवश्यक पर्दछ ।
८. राष्ट्रपतिबाट पाँच विधेयक प्रमाणीकरण
राष्ट्रपति विद्यादेवी भण्डारीले आज पाँचवटा विधेयक प्रमाणीकरण गरेकि छिन् । राष्ट्रपति भण्डारीले आज आर्थिक वर्ष २०७७/७८ को सेवा र कार्यका लागि सङ्घीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी हुन् ।
९. कोरोना फैलन नदिन आवतजावतमा कडाइ
क्वारेन्टिनको सुरक्षा र व्यवस्थापनमा खटिएका व्यक्तिमा कोरोना सरेपछि काठेखोला गाउँपालिकाले आवतजावतमा कडाइ गरेको छ । गए राति १२ बजेदेखि आउँदो २० गते राति १२ बजेसम्म अत्यावश्यक बाहेकका सबै सवारीसाधन, वित्तीय संस्था, पसल, होटल, खाजा घर खोल्न नपाइने भएको छ।
१०.मेलम्चीको पानी पथान्तरणको तयारी
मेलम्चीको पानी काठमाडौं उपत्यकामा झार्नका लागि पथान्तरणको तयारी गरिएको छ । राष्ट्रिय गौरबको सो आयोजनामा सुरुङको निर्माणको काम झण्डै सकिएकाले पानी सुरुङमा पठाउन लागिएको हो ।सुरुङ निर्माणको काम सकिएर अहिले अन्तिम काम भइरहेको छ ।