काठमाडाैं - त्रिभुवन विश्वविद्यालयका सबै वार्षिक परीक्षा स्थिति सामान्य भएपछि हुने भएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले केही ढिला भए पनि वार्षिक परीक्षा भने गरिने बताए ।
उनका अनुसार अहिले सबै विद्यार्थी घर गएका छन् । बन्दाबन्दी खुलेर यातायात सहज भएपछि विद्यार्थी आउने वातावरण हुने र विद्यार्थीलाई केही समय बाँकी राखेर पुनः परीक्षाको कार्यतालिका सार्वजनिक गर्ने बताए ।
साथै उनले सेमेस्टरको परीक्षा के गर्ने भन्ने विषयमा कार्यदल बनाएकाले कार्यदलको सुझाव आएपछि निर्णय गरिने बताए । त्रिविले गत चैत ७ गतेदेखि कोभिड-१९ को कारणले सेमेष्टर तथा वार्षिक सबै परीक्षा स्थगित गरेको थियो । कोरोना भाइरसका कारण स्नातकदेखि स्नातकोत्तर तहसम्मका ७ लाख विद्यार्थी परीक्षाकाे प्रतीक्षामा छन् ।
यसैगरी बन्दाबन्दीको बीचमा १४ वटा तहका परीक्षाफल प्रकाशित गरेको छ । गत वैशाख २० गतेबाट कार्यालय कर्मचारीलाई ल्याएर परीक्षाफल प्रकाशित गरिएको हो ।