१.प्रधानमन्त्रीको अभिव्यक्तिबारे स्थायी कमिटीमा छलफल
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटी बैठकमा पूर्वनिर्धारित कार्यसूचीका अतिरिक्त अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार हटाउन विभिन्न कोसिस भएको भन्ने सम्बन्धमा दिएका पछिल्लो अभिव्यक्तिका विषयमा छलफल भएको छ ।२. त्रिविको वार्षिक परीक्षा नराेकिने
त्रिभुवन विश्वविद्यालयका सबै वार्षिक परीक्षा स्थिति सामान्य भएपछि हुने भएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले केही ढिला भए पनि वार्षिक परीक्षा भने गरिने बताए । उनका अनुसार अहिले सबै विद्यार्थी घर गएका छन् । बन्दाबन्दी खुलेर यातायात सहज भएपछि विद्यार्थी आउने वातावरण हुने र विद्यार्थीलाई केही समय बाँकी राखेर पुनः परीक्षाको कार्यतालिका सार्वजनिक गर्ने बताए ।
३.थप ३ सय १६ जनामा कोरोना पुष्टि
नेपालमा मंगलबार थप ३ सय १६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका बिभिन्न प्रयाेगशालामा गरेकाे परिक्षणमा थप ३ सय १६ जना संक्रमित थपिएकाे बताए । यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ । कुल संक्रमितहरूमा १ हजार ६ सय ५७ जना महिला छन् भने ११ हजार ९ सय ७ जना पुरूष रहेका छन् ।
४. कोरोना भाइरस जीन अध्ययन शुरु
नेपालमा कोरोना भाइरस (कोभिड १९)को अनुवंश (जीन सिक्वेन्सिङ ) को अध्ययन शुरु गरिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नेपाली वैज्ञानिक र अनुसन्धान कर्ताबाट कोरोना सङक्रमितमा रहेकाको जीनको अध्ययन थालेको हो । रिषद्का कार्यकारी निर्देशक डा. प्रदीप ज्ञवालीले नेपालमा सङक्रमितमा रहेको जीन कस्तो प्रकारको रहेको भनेर अध्ययन गर्न शुरु भएको बताए ।
५. कोरोना भाइरसबाट भारतमा १६ हजार ८९३ जनाको मृत्यु
भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट ४ सय १८ जनाको मृत्यु भएपछि यस घातक रोगबाट ज्यान गुमाउनेको सङ्ख्या १६ हजार ८ सय ९३ पुगेका स्थानीय समयानुसार मङ्गलबार बिहान ८ बजे स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । भारतमा दैनिक हजारौको संख्यामा कोरोना भाइरसको नयाँ संक्रमितहरु थपिदै गएकाले कुल सङ्क्रमितको संख्या ५ लाख ६६ हजार ८ सय ४० पुगेको पनि सो मन्त्रालयले जनाइएको छ ।
६. चीनमा भेटियो नयाँ प्रकारको भाइरस, कोरोना जस्तै महामारीको रुप लिन सक्ने चेतावनी
विश्वव्यापी महामारी बनेर फैलिने सक्ने क्षमता भएको एउटा नयाँ फ्लू भाइरस चीनमा फेला परेको वैज्ञानिकहरूले बताएका छन् ।उनीहरूका अनुसार मानिसहरूलाई सङ्क्रमण गर्न सक्ने उक्त भाइरस भर्खरै विकसित भएको र सुँगुरमा भेटिएको हो । उक्त भाइरसको संरचनामा परिवर्तन हुनसक्ने भएकाले मानिसबाट मानिसमा सर्ने र विश्वभरि फैलिने सम्भावनाले अनुसन्धानकर्ताहरू चिन्तित छन् ।
७. राष्ट्रपति र प्रधानमन्त्री बीच भेटवार्ता
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज(मंगलबार) भेटवार्ता भएको छ। प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक सुरू हुनु आधा घन्टाअघि प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न आज बिहान शितल निवास पुगेका हुन् ।
८. सेती नदी जलविद्युत् आयोजनाले पायो विद्युत् उतपादन अनुमतिपत्र
सरकारले सेती नदी जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले सो आयोजनालाई सोमबार विद्युत् उत्पादन अनुमतिपत्र दिएको हो । भिजन लुम्बिनी ऊर्जा विकास कम्पनी लिमिटेडले कास्कीमा निर्माण शुरु गरेको २५ मेगावाट क्षमताको आयोजनाको निर्माण शुरु गरेको छ ।
९. बोइङ ७३७ म्याक्सको उडान परीक्षण शुरु
अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले बोइङ ७३७ म्याक्स शृंखलाका बिमानहरु पुनः उडानका लागि परीक्षण गर्न सोमबार अनुमति दिएको छ । एकपछि अर्को बिमान दुर्घटनाग्रस्त हुन थालेपछि एफएएले म्याक्स शृंखलाका बिमान उडाउन प्रतिबन्ध लगाएको थियो । एफएएद्वारा जारी वक्तव्यमा बोइङ ७३७ म्याक्स बिमान सोमबार सियाटलको बोइङ फिल्डबाट पहिलो चरणको परीक्षणका लागि उडान भरेको उल्लेख छ ।
१०. साफ च्याम्पियनसिप अर्को वर्ष
बङ्गलादेशमा हुने भनिएको १३औँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ च्याम्पियनसिप (साफ) प्रतियोगिता अर्को वर्ष हुने भएको छ । कोरोना भाइरसका कारण साफ च्याम्पियनसिप एक वर्ष सारिएको हो । साफको सोमबार बसेको बैठकले साफ च्याम्पियनसिप सन् २०२१ मा गर्ने निर्णय गरेको हो । यसअघि साफ च्याम्पियनसिप यही वर्ष सेप्टेम्बरमा गर्ने तय भएको थियो ।