कविहरूले कवितामार्फत राज्यको गैरजिम्मेवारीपनमाथि खबरदारी गर्न ‘क्वारेन्टिन कविता’ अभियान सुरु गरेका छन् । बुधबार बेलुकी ७ बजे उनीहरूले ‘क्वारेन्टिन कविता’ ह्यासट्यागमा आ–आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा कविता पोष्ट गरे ।
पोष्ट गरिएका कवितामा महामारी नियन्त्रणमा सरकारले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको विषयदेखि मुलुकका जारी राजनीतिक अस्थिरताका विषयसम्म उठान भएको देखिन्छ ।
‘सयौं कविले आफ्ना कविता सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे’ अभियन्ताहरूद्वारा जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘यस अभियानमार्फत जोडिएका सम्पूर्ण कविहरूको एउटैमात्र उद्देश्य भनेको सचेत नागरिकको रूपमा राज्यलाई जवाफदेही र जिम्मेवार बनाउनु थियो ।’ महामारी नियन्त्रणको सवालमा सरकारले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेकोसमेत विज्ञप्तिमा उल्लेख छ ।
अभियानका कवितामा राजनतिक दल र सरकारप्रति तीव्र आक्रोश देखिए पनि अभियन्ताहरूले अभियान कुनै राजनीतिक आग्रह–पूर्वाग्रहबाट प्रेरित नभएको बताएका छन् । ‘अहिले केही राजनीतिक दलले हाम्रो यस सिर्जनात्मक अभियानलाई आफ्नो दलनिकट राजनीतिक रङ्ग दिन खोजेको पनि देखियो’ उनीहरूले विज्ञप्तिमा स्पष्टिकरण दिएका छन्, ‘यो अभियान विशुद्ध रूपमा राजनीतिक खिचातानी र दाउपेचभन्दा परको अभियान हो ।’
अभियानलाई कसैको राजनीतिक स्वार्थपूर्तीको माध्यम बन्न नदिने भन्दै यसप्रति आफूहरू सचेत रहेको विज्ञप्तिमा उल्लेख छ । अभियानको प्रयोग गरेर कसैले राजनैतिक लाभ लिन खोजे वा सत्ताप्राप्तिको भर्याङ बनाउन खोजे आफूलाई मान्य नहुने अभियन्ताहरूले बताएका छन् ।