१. २४ घण्टामा थपिए ७ सय ४० नयाँ संक्रमित , कुल संक्रमितको संख्या १५ हजार नाघ्यो
नेपालमा शुक्रबार थप ७ सय ४० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका बिभिन्न प्रयाेगशालामा गरेकाे परिक्षणमा थप ७ सय ४० जना संक्रमित थपिएकाे बताए । यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ ।
२.भारतमा पछिल्लो २४ घण्टामा २० हजारभन्दा बढी संक्रमित थपिए
भारतमा पछिल्लो २४ घण्टामा २० हजार ९०३ कोरोना भाइरस संक्रमित थपिएका छन् । कोरोना संक्रमितको थपिने दैनिक संख्यालाई हेर्दा यो संख्या अहिलेसम्मकै उच्च हो । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोन भाइरस संक्रमितको संख्या ६ लाख २५ हजार ५४४ पुगेको छ ।
३. काेराेना संक्रमणबाट काठमाडौंका ८५ वर्षीय वृद्धको मृत्यु , मृतककाे संख्या ३२ पुग्याे
नेपालमा थप १ जनाको कोरोनाको कारण मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मृत्यु हुनेमा काठमाडौं नयाँ बानेश्वर बस्ने ८५ वर्षीय वृद्ध रहेको बताए । यो सँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।
४. ‘फेक अकाउन्ट’बाट प्रधानमन्त्रीको राजिनामा !
नेकपाभित्रको राजनिती चरम बिवादबाट गुज्रीरहेको छ। विभिन्न मुद्दामा आलोचना खेपिरहेका आफ्नै पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीमाथी शिर्ष नेताहरु नै पनि खनिएका छन्। पार्टीभित्रैबाट प्रधानमन्त्री ओलीको राजिनामा समेत माग्न थालिएको छ। यहि अवस्थालाई बढाईचढाई गर्न केहि तत्वहरुले चलखेल समेत शुरु गरेको देखिन्छ।
५. नेकपा जोगाउन शीर्ष नेताको दौडधुप
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा गम्भीर संकट उत्पन्न भएपछि शीर्ष नेताहरूले पार्टी जोगाउन दौडधुपलाई तीव्र पारेका छन् । पार्टीको जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामाको माग उठेपछि त्यसले नेकपामा तरंग सिर्जना भएको छ ।
६. स्थानीय तहको सहमतिपछि मात्रै आवागमन अनुमति
कारोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि बढी जनघनत्व भएका शहरबाट काभ्रेपलाञ्चोकमा आवागमन गर्नेलाई स्थानीय क्वारेन्टिन वा होम क्वारेन्टिनमा बस्ने सुनिश्चिततापश्चात मात्रै अनुमति दिइने भएको छ । यसका लागि स्थानीय तहले आफ्ना नागरिक कुन क्वारेन्टिनमा बस्ने भन्ने ग्यारेन्टी गरेपछि मात्रै कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला कमाण्ड पोष्टले सहजीकरणको व्यवस्था मिलाउने जनाएको छ ।
७.राष्ट्रिय व्यापार सङ्घद्धारा बिना धितो कर्जाको व्यवस्था मिलाउन माग
राष्ट्रिय व्यापार सङ्घले मौद्रिक नीतिमा व्यवसायीलाई बिना धितो कर्जाको व्यवस्था मिलाउन माग गरेको छ । सङ्घका महासचिव वैकुण्ठ दाहालले बिहीबार एक विज्ञप्ति जारी गरी कोभिड–१९ का कारण थला परेको अर्थतन्त्र जोगाउन बिना धितो कर्जाको व्यवस्था मिलाउन माग गरेका हुन् । “मौद्रिक नीति व्यवसायीमैत्री हुनुपर्छ, कोरोनाले थला परेको व्यवसायलाई सम्बोधन गर्ने खालको नीति आउनुपर्छ”, महासचिव दाहालले भने । कोरोनाले थलिएका व्यापारीलाई मौद्रिक नीतिले उठाउने अपेक्षासमेत व्यवसायीले लिएका छन् ।
८.क्वारेन्टिनबाट १ लाख ३४ हजार नागरिक बाहिरिए
पिसिआर परीक्षण नै नगरी क्वारेन्टिनमा बसेका अधिकांशलाई घर पठाइएको छ । ४० दिनसम्म क्वारेन्टिनमा बसेकामा लक्षण नदेखिएपछि घर पठाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बिहीबार मात्र १० हजार २ सय ५३ जना क्वारेन्टिनबाट निस्किएका छन् । उनले भने, ‘कतिपय २८ देखि ४० दिनसम्म पनि क्वारेन्टिनमा बसे । लक्षण नै नदेखिएपछि परीक्षण गरिरहनुपर्दैन ।’
९. ‘खेलकूद गतिविधि ठप्प हुनु दुर्भाग्य’
कोभिड–१९ महामारी रोक्न सरकारले आह्वान गरेको बन्दाबन्दीको तीन महिना पुगिसक्दासमेत खेलकूद गतिविधि सञ्चालन हुन नसकेकामा खेलकर्मी तथा सञ्चारकर्मीले चिन्ता व्यक्त गरेका छन् ।विश्व खेलकूद पत्रकार दिवसका अवसरमा बिहीबार खेलकूद पत्रकार मञ्च गण्डकीले पोखरामा आयोजना गरेको ‘कोभिड–१९ प्रभावबीच खेलकूद र पत्रकारिता’ विषयक अन्तक्रिया कार्यक्रमका सहभागीले कोरोनाबाट धेरै प्रभावित विश्वका विभिन्न मुलुकमा खेल क्षेत्र पूर्ववत् अवस्थामा फर्किसकेकाले नेपालमा समेत विस्तारै खेल प्रशिक्षण, अभ्यास तथा खेलकूद गतिविधि शुरु गर्नुपर्नेमा जोड दिए ।
१०. चर्चित बलिउड कोरियोग्राफर सरोज खानको मृत्यु
बलिवुडकी चर्चित कोरियोग्राफर (नृत्य निर्देशक) सरोज खानको ७२ वर्षकाे उमेरमा निधन भएको छ । उनको हृदयघातका कारण गएराती १ बजेर ५२ मिनेट जादा उनको निधन भएको हाे । खान १७ जुन मुम्बईको बान्द्रास्थित गुरु नानक अस्पतालमा भर्ना भएकी थिइन। श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना भएकी सरोजको कोरोना परिक्षण समेत गरिएकोमा रिपोर्ट निगेटिभ आएको थियो ।