धादिङ– नवलपरासीको गैँडाकोटबाट काठमाडौँ जाँदै गरेको स्करपियो चितवन र धादिङको सीमा क्षेत्रबाट बिहीबार त्रिशूलीमा खसेको प्रहरीले जनाएको छ । शुक्रबार स्करपियोका धनीले इलाका प्रहरी कार्यालय गजुरीमा गाडी र चालक हराएको भन्दै निवेदन दर्ता गरेपछि सो गाडी खसेको निष्कर्ष प्रहरीले निकालेको हो ।
इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी नायब उपरीक्षक विश्वराज खड्काका अनुसार गाडीधनीका तर्फबाट शङ्करप्रसाद घिमिरेले दिएको निवेदनअनुसार ग २ च ९१५६ नम्बरको सो गाडी बिहान ६ बजे मुग्लिन कटेको थियो । घिमिरेका अनुसार चालक गैँडाकोट नगरपालिका वडा नं २ निवासी ४६ वर्षीय मोहनिलाल पाण्डेले आफू यात्रु लिन काठमाडौँ जाँदै गरेको भन्दै बिहान ६ बजे मुग्लिनबाट फोन गरेका थिए । त्यसको केही बेरपछि फोन सम्पर्कविहीन भएको थियो ।
खड्काले ६ बजे मुग्लिन कट्नु, प्रत्यक्षदर्शीले भनेकै रङको गाडी हुनु, मोबाइलको टावरको अन्तिम बिन्दु कुरिनटार हुनु, चालक र गाडी सम्पर्कविहीन हुनुजस्ता कारणले सो गाडी र चालक बेपत्ता भएको अनुमान गरिएको बताए । गाडीधनी अनिल शर्मा न्यौपानेका जेठान शङ्करप्रसाद घिमिरेले प्रहरीमा गाडी र चालक खोजी गरिदिन शुक्रबार निवेदन दिएको प्रहरीले जनाएको छ । सो गाडी खसेको स्थानीय सुनमाया चेपाङले प्रत्यक्ष देखेपछि प्रहरीलाई खबर गरेका थियो ।
सशस्त्र प्रहरीको तालीम शिक्षालय कुरिनटारका प्रमुख सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक कालिदास धौबजीका अनुसार गाडी खसे लगत्तैबाट खोजी गर्दा पनि जीप हालसम्म भेटिएको छैन । गाडी खोज्न सशस्त्र प्रहरीका गोताखोर परिचालन गरिएको छ । घटनास्थल चितवनको सीमा क्षेत्रको धादिङ जिल्लामा पर्ने बेनीघाट रोराङ गाउँपालिका–१० मौवाखोला पर्दछ । गाडी खोजी गर्न इलाका प्रहरी कार्यालय गजुरीले चितवन प्रहरीलाई पत्राचार गरेको जनाएको छ । रासस