१. थप २ सय ९३ जनामा कोरोना पुष्टि, कुल संक्रमितकाे संख्या १६ हजार नजिक
नेपालमा आईतबार थप २ सय ९३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका बिभिन्न प्रयाेगशालामा गरेकाे परिक्षणमा थप २ सय ९३ जना संक्रमित थपिएकाे बताए । यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ ।
२.काठमाडौं उपत्यकामा थपिए ३० नयाँ काेराेना संक्रमित
काठमाडौं उपत्यकामा थप ३० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २७ जना, ललितपुरमा २ जना र भक्तपुरमा एक जना संक्रमित देखिएका हुन् । मन्त्रालयका अनुसार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौँका २१ , भक्तपुरका १ र ललितपुरका २ जनामा संक्रमण पुष्टि भएको हाे ।
३. भारतमा कोरोनाबाट एकैदिनमा झण्डै २५ हजार सङ्क्रमित
कोरोनाभाइरसका कारण भारतमा एकैदिनमा झण्डै २५ हजार जना सङ्क्रमित भएका छन् । सरकारी स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा २४ हजार ८५० जना सङ्क्रमित भएका छन् । दैनिक रुपमा सङ्क्रमित हुनेहरुको यो सङ्ख्या अहिलेसम्मकै सवैभन्दा धेरै भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार योसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या छ लाख ७३ हजार १६५ पुगेको छ ।
४. ढलको पानीबाट कोरोना सर्दैन : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य मन्त्रालयले काठमाडौँको ढलको पानीमा कोरोनाको जीवाणु देखिएपनि समुदायमा संक्रमण फैलिएर जटिल अवस्था सिर्जना भएको भन्न नमिल्ने जनाएको छ । मन्त्रालयले ढलमा काम गर्नेहरुले स्वास्थ्य सुरक्षा अपनाएर काम गर्नुपर्ने बताएकाे छ । साथै ढलको पानीबाट कोरोना नसर्ने भन्दै यसबाट नआत्तिन आग्रह गरेको छ ।
५. कक्षा ११ को बोर्ड परीक्षा नहुने, आन्तरिक परीक्षाकै आधारमा प्रमाणपत्र दिइने
कोरोना र जारी लक डाउनका कारण यस वर्ष कक्षा ११ को बोर्ड परीक्षा नहुने भएको छ । पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले विद्यालयले गरेको आन्तरिक परीक्षाका आधारमा विद्यार्थीलाई प्रमाणपत्र दिने निर्णय गरेको हो । आन्तरिक मूल्यांकन कसरी गर्ने भन्ने सम्बन्धमा कार्यविधि बनाउने जिम्मा राष्ट्रिय परीक्षा बोर्डलाई दिइएको छ । कार्यविधि अनुसार सम्बन्धित कलेजलहरुले विद्यार्थीहरुलाई अंक प्रदान गर्नेछन् ।
६.नेपाल राष्ट्र बैंकले ५० को नयाँ नोट चलनचल्तीमा ल्याउने
नेपाल राष्ट्र बैंकले सोमबारदेखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ । नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र रहेको, दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको, नोटमा गभर्नरको दस्तखत रहेको स्थानमा तत्कालीन गभर्नर डा चिरञ्जीवी नेपालको हस्ताक्षर रहेको छ ।
७. विदेशी नागरिकलाई नागरिकता बनाईदिने अधिकृत पक्राउ
गैरकानुनी रुपमा विदेशी नागरिकलाई नेपाली नेपाली नागरिकता र राहदानी बनाईदिएको अभियोगमा प्रहरीले एकजना अधिकृतलाई पक्राउ गरेको छ। झुठ्ठा विवरण पेश गरी विदेशी नागरिकलाई नागरिकता बनाईदिएको अभियोगमा जिल्ला प्रशासन कार्यालय झापाका तत्कालिन प्रशासकीय अधिकृत सुरेश आचार्यलाई काठमाडौं गठ्ठाघरबाट पक्राउ गरिएको हो।
८. मच्छिन्द्रनाथको रथारोहण असार २४ गते
‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथारोहण यही असार २४ गते हुने भएको छ । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले बुधबार उत्तम साइत रहेको ठहर गरेसँगै मच्छिन्द्रनाथलाई रथमा विराजमा गराउन लागिएको हो । सो दिन ४ बजेर ४२ मिनेटमा मच्छिन्द्रनाथलाई रथमा विराजमान गराइने पानेजु हेमबज्र बाजाचार्यले बताउनुभयो । उनले भने, “हाल तःबहालस्थित पाटीमा रहेका मच्छिन्द्रनाथलाई चारचार जना पुजारी मिलेर बाजागाजा, पूजापाठ र नीतिनियमका साथ पुल्चोकमा रहेको रथमा विराजमान गराइन्छ ।”
९. विदेशमा अलपत्र परेकाको उद्धार जारी
दुई एयरलाइन्सले विभिन्न मुलुकबाट दैनिक औसत पाँचदेखि छवटा अन्तर्राष्ट्रिय उडान गरी समस्यामा परेका नेपालीलाई उद्धार जारी राखेका छन् । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी क्षेत्रको हिमालय एयरलाइन्सले चार्टर्ड उडान गरी उनीहरुलाई स्वदेश फर्काइरहेका हुन् ।
१०. विश्वभर सङ्क्रमितको सङ्ख्या शनिबार अहिलेसम्मकै उच्च : डब्लुएचओ
विश्वमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या शनिबार अहिलेसम्मकै उच्च रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ । डब्लुएचओका अनुसार शुक्रबारदेखि शनिबार विहानसम्मको २४ घण्टाको अवधिमा विश्वभर सङ्क्रमितको सङ्ख्या दुई लाख १२ हजार ३२६ रहेको थियो ।यो अवधिमा सबैभन्दा बढी सङ्क्रमितको सङ्ख्या अमेरिकी क्षेत्रमा रहेको डब्लुएचओले जनाएको छ । अमेरिकी मुलुकहरूमा पनि संयुक्त राज्य अमेरिका र ब्राजिलमा २४ घण्टामा सङ्क्रमित दुई लाख १२ हजार ३२६ व्यक्ति मध्ये झण्डै आधा सङ्क्रमित भेटिएका थिए ।
११. इथियोपियामा गायकको मृत्युसम्बन्धी विवादमा भएको झडपमा एक हप्ताभित्र कम्तीमा १ सय ६६ जनाको मृत्यु
इथियोपियाली लोकप्रिय गायकको मृत्युका विषयमा भएको विवाद हिंसात्मक भडपमा परिणत हुँदा इथियोपियाको ओरोमिया क्षेत्र र राजधानी अदिस अबाबामा कम्तीमा १६६ जनाको मृत्यु भएको प्रहरी स्रोतहरूले आइतबार जानकारी गराएका छन् । अरोमिया क्षेत्रका प्रहरी उप–आयुक्त गिरमा गेलमले झडपमा कम्तीमा १५६ सर्वसाधारण र ११ सुरक्षाकर्मीको मृत्यु भएको शनिबार राति सञ्चारमाध्यमहरूलाई जानकारी गराए।