गृह मन्त्रालयले केन्द्रीय तथ्यांक विभागसँगको सहकार्यमा गरेको अध्ययनअनुसार बाग्मती प्रदेशमा लागुऔषध प्रयोगकर्ता सबभन्दा धेरै र कर्णालीमा प्रदेशमा सबैभन्दा कम रहेको पाइएको छ । बाग्मती प्रदेशमा कुलमध्ये ३५ दशमलव ६ प्रतिशत र कर्णाली प्रदेशमा एक दशमलव ४ प्रतिशत प्रयोगकर्ता छन् ।
आज सार्वजनिक प्रतिवेदनअनुसार बेरोजगार युवा बढी दुर्व्यसनमा फसेका छन् । कुल प्रयोगकर्तामध्ये १५ देखि २९ वर्षका व्यक्तिले बढी लागुऔषध प्रयोग गर्ने गरेका छन् । त्यसमध्य ३९ दशमलव ७ प्रतिशतले बेरोजगारीका कारण कुलतमा फसेको प्रतिक्रिया दिएका छन् ।
यस्तै, लागुऔषध प्रयोग गर्ने अन्यमा व्यापार गर्ने १५ दशमलव ९, दैनिक ज्यालादारीमा काम गर्ने १५ दशमलव ६, नोकरी गर्ने ११ दशमलव सात प्रतिशत छन् । यस्तै, विद्यार्थी ८ दशमलव ७, वैदेशिक रोजगारीमा गएका ४ दशमवल १ प्रतिशतले लागुऔषध प्रयोग गर्ने गरेका छन् ।
प्रयोगकर्ताले लागुऔषध दुर्व्यसनीबाट मुक्त गर्न रोजगारी सिर्जना गर्नुपर्ने र निःशुल्क उपचार सेवा दिनुपर्ने बताएका छन् । सर्वेक्षणअनुसार जीवनस्तरमा सुधार गर्न के गर्नुपर्छ भन्ने प्रश्नमा ४७ दशमलव दुई प्रतिशतले सरकारले रोजगारीको अवसर सिर्जना गर्नुपर्ने बताएका छन् । यस्तै, ३६ प्रतिशतले सरकारले निःशुल्क उपचार सेवा दिनुपर्ने बताएका छन् । प्रयोगकर्तामध्ये ३९ दशमलव दुई प्रतिशतले सीमानाकाको निगरानी गरी आयातमा रोक लगाउनुपर्ने सुझाव पनि दिएका छन् ।
लागुऔषधमा किशोरकिशोरी
किशोरकिशोरी नै लागुऔषधमा बढी फसेको पाइएको छ । प्रतिवेदनअनुसार सुरुमा गाजाजन्य पदार्थ प्रयोग गर्न थालेको पाइएको छ । कूल मध्य ८८ प्रतिशतले पहिलोपटक गाजा प्रयोग गरेका थिए । अधिकांशले सुघ्ने पदार्थ प्रयोग गर्ने गरेको पाइएको छ । उत्तेजनात्मक पदार्थ प्रयोग गर्नेमा ४६ प्रतिशत रहेका छन् । उनीहरुमध्ये ८४ दशमलव ७ प्रतिशतले गाजा प्रयोग गर्ने गरेका छन् । यस्तै, ७३ प्रतिशतले आनन्ददायक पदार्थ, ४६ दशमलव ६ प्रतशतले अफिमजन्य पदार्थ प्रयोग गर्ने गरेको पाइएको छ ।
सिरिन्ज साटासाट गर्दा रोग सङ्क्रमण
प्रतिवेदनअनुसार सबैभन्दा बढी सिरिन्ज साटासाट गर्नेमा रोगको संक्रमण बढी देखिएको छ । झन्डै ९३ प्रतिशतले सिरिन्ज साटासाट गर्दा एचआइभी, हेपाटाइटिसलगायत अन्य रोग सरेको पाइएको छ । सुईको माध्यमबाट लागुऔषध प्रयोग गर्ने २९ दशमलव ३ प्रतिशत छन् । सबैभन्दा बढी साथीभाइको संगत र लहैलहैमा प्रयोग गर्ने गरेको फेला परेको छ । यसरी प्रयोग गर्नेमा ८४ दशमलव ४ प्रतिशत छन् ।
लागुऔषधमा खर्च
गाजाजन्य पदार्थ प्रयोग गर्दा उनीहरुले ९२ रुपैयाँ खर्च गर्ने गरेको पाइएको छ । त्यसपछि सुघ्ने पदार्थका लागि १२४, आनन्ददायक पदार्थका लागि ५७४, अफिमजन्य पदार्थका लागि ८६९, उत्तेजनात्मक पदार्थका लागि १ हजार ८९० र भ्रमात्मक पदार्थका लागि २ हजार १९५ सम्म खर्च गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ ।
मुलुकमा लागुऔषध प्रयोगकर्ताको संख्या केही वृद्धि भए पनि वृद्धिदर घटेको छ । गृह मन्त्रालयले केन्द्रीय तथ्यांक विभागसँगको सहकार्यमा गरिएको अध्ययनले यसपटक वृद्धिदर आधाभन्दा बढीले घटेको देखिएको हो ।
प्रतिवेदनअनुसार औसत वृद्धिदर ५ दशमलव ६ प्रतिशत रहेको छ । २०६३–२०६९ को विवरणमा वृद्धिदर औसत ११ दशमलव ३६ प्रतिशत थियो । नमुना सर्वेक्षणमा यसपटक मुलुकभर कुल १ लाख ३० हजार ४ सय २४ प्रयोगकर्ता भेटिएका छन् । २०६९ मा प्रयोगकर्ताको संख्या ९१ हजार ५ सय ३४ थियो । पाँच वर्षको अवधिमा ३८ हजार ८ सय ९० प्रयोगकर्ता थपिएका छन् । लागुऔषध प्रयोगकर्ताको सवालमा मुलुकमा गरिएको यो तेस्रो सर्वेक्षण हो । यसअघि २०६३ र २०६९ मा सर्वेक्षण गरिएको थियो । २०६३ मा ४६ हजार ३०९ जना प्रयोगकर्ता थिए ।
२०७६ को कात्तिक र मंसिर प्रत्यक्ष रुपमा प्रयोगकर्तालाई भेटेर पहिलोपटक प्रविधि प्रयोग गरी तथ्यांक स्रकलन गरिएको मन्त्रालयका लागुऔषध नियन्त्रण शाखाका प्रमुख झङ्कनाथ ढकालले जानकारी दिए ।
नेपालमा लागुऔषध प्रयोगको ढाँचा, जोखिम र दुरुपयोगबाट हुने असर कम गर्न प्रमाणमा आधारित नीति तथ कार्यक्रम तर्जुमा गर्न अध्ययन गरिएको थियो । अप्रत्यक्ष गुणक विधिबाट ४३ जिल्लाका दुई हजार प्रयोगकर्तालाई भेटेर सर्वेक्षण गरिएको उनले जनाए ।
विगतमा प्रतिदिन २१ जना प्रयोगकर्ता थपिने गरेका थिए । यसपटकको अध्ययनमा उक्त तथ्यांक घटेर प्रतिदिन १५ जना मात्रै थपिने गरेको पाइएको अध्ययनमा सहभागी केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जनाए । यसपटकको अध्ययनमा प्रयोगकर्ताको उमेर, लिंग, शिक्षा, प्रयोग गर्ने लागुऔषध, प्राप्त गर्ने स्रोत तथा सेवनको विधिजस्ता विषयसमेत प्रस्ट रुपमा देखाइएको छ ।
प्राप्त विवरणअनुसार प्रयोगकर्तामध्ये १ लाख २१ हजार ६ सय ९२ पुरुष छन् । पुरुष प्रयोगकर्ताले एकान्त ठाउँलाई बढी रोज्ने गरेको पाइएको छ । ५१ प्रतिशत एकान्त ठाउँमा गएर प्रयोग गर्ने गरेका छन् । ३५ प्रतिशत महिलाले एकान्त ठाउँ रोज्ने गरेको पाइएको छ ।
कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले वृद्धिदर घट्नु खुसीको कुरा भएको बताए । उनले लागुऔषध प्रयोग घनाउन नयाँ रणनीति र योजनासहित अघि बढ्ने प्रतिबद्धता जनाए ।