नेपाल प्रहरीको २८ औँ प्रहरी महानिरिक्षकमा एआईजी शैलेश थापा क्षेत्री नियूक्त भएका छन् । बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले थापालाई आईजीपीमा नियुक्ति गर्ने निर्णय गरेको हो ।
थापालाई ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलतालगायतका आधारमा बढुवा गरिएको हो।
थापा २०४९ सालमा प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरीमा प्रवेश गरेका थिए। शक्तिकेन्द्रहरुको चर्को दबाबकाबीच एसएसपीबाट डिआईजीमा बढुवा गराउँदा तत्कालिन आईजीपी सर्वेन्द्र खनालले थापालाई पहिलो वरियतामा राखेका थिए । जसका कारण उनी अहिले सहजै आईजीपीमा बढुवा हुन सफल भए ।
आईजीपी ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवाहदका कारण भोली (असार २४ गते) अनिवार्य अवकाश पाउँदैछन् । आईजीपीका लागि दुई जना दाबेदार रहेका थिए । डीआईजीबाट एआईजी बढुवाको वरीयतामा १ नम्बरमा बढुवा भएका एआईजी तारणी लम्सालले पनि आईजीपी ज्ञवालीसँगै अवकाश पाउने भएपछि उनीपछिका थापा र हरी पालमध्येबाट सरकारले थापालाई नै आईजीपी बनाउने निर्णय गरेको हो ।
नयाँ आईजीपीको कार्यकाल २०७९ वैशाख १७ गतेसम्म रहन्छ । हाल थापाले मानवश्रोत एवम् प्रशासन विभागको नेतृत्व सम्हालेका छन् भने पालले कार्य एवम् अपराध अनुसन्धान विभागको नेतृत्व सम्हालेका छन् ।