१.थप २ सय ४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६ हजार नाघ्यो
नेपालमा मंगलबार २ सय ४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य मन्त्रालयका प्रबक्ता डा . जागेश्वर गाैतमले देशका बिभिन्न प्रयाेगशालामा गरेकाे परिक्षणमा थप २ सय ४ जनामा काेराेना पुष्टि भएकाे बताए । याे सँगै नेपालमा काेराेना भाइरस संक्रमितको कुलसंख्या १६ हजार १ सय ६८ पुगेको छ।
२. काठमाडौंमा थपिए २८ जना नयाँ कोरोना संक्रमित
काठमाडौं उपत्यकामा तीन जिल्लामा मंगलबार थप २८ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं जिल्लामा १४, ललितपुरमा १० र भक्तपुरमा ४ जनामा काेराेना संक्रमण देखिएकाे बताए। यसअघि सोमबार काठमाडौं उपत्यकामा ५४ जनामा कोरोना संक्रमण देखिएको थियो ।
३. भारतमा पछिलो २४ घण्टामा ४ सय ६७ जनाको मृत्यु, मृतककाे संख्या २० हजार नाघ्याे
छिमेकी राष्ट्र भारतमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण्बाट पछिलो २४ घण्टामा ४ सय ६७ जनाको मृत्यु भएको छ। भारतको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार त्यहाँ कोरोनाको कारण मृत्यु हुनेको संख्या २० हजार १ सय ६० पुगेको छ। त्यस्तै पछिलो २४ घण्टामा भारतमा २२ हजार २ सय ५२ नयाँ कोरोना संक्रमित थपिएका छन्।
४. शैलेश थापा क्षेत्री बने नेपाल प्रहरीको नयाँ आईजीपी
नेपाल प्रहरीको २८ औँ प्रहरी महानिरिक्षकमा एआईजी शैलेश थापा क्षेत्री नियूक्त भएका छन् । बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले थापालाई आईजीपीमा नियुक्ति गर्ने निर्णय गरेको हो । थापालाई ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलतालगायतका आधारमा बढुवा गरिएको हो। थापा २०४९ सालमा प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरीमा प्रवेश गरेका थिए ।
५. सरिता गिरीलाइ पार्टी र सांसद दुवैबाट निष्कासित गर्ने समाजवादीको निर्णय
संघीय समाजवादी पार्टीले सरिता गिरीलाई पार्टी र सांसद दुबैबाट हटाउने निर्णय गरेको छ । पार्टी कार्यालय बालकुमारीमा मंगलबार बसेको बैठकले उनलाई पार्टीकाे साधारण सदस्यसमेत नरहने गरी सांसद पदबाट हटाउने निर्णय गरेको हो । लिम्पियाधुरासहितको नेपालको अद्यावधिक नक्सा संविधानमा राख्ने संविधान संशोधन प्रस्तावमाथि उनले असहमति राखेकी थिइन्। पार्टीका महासचिव रामसहायप्रसाद यादवको नेतृत्वमा बनेको ३ सदस्यीय कार्यदलले गिरीलाई कारबाही गर्न सिफारिस गरेको थियो ।
६. बिहीबारदेखि बाढीपहिराको जोखिमः सतर्कता अपनाउन आग्रह
आगामी बिहीबारदेखि शनिबारसम्म बाढीपहिराको जोखिम बढ्ने भएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजीक रहने भएकाले बिहीबार रातिदेखि नेपालमा मनसुन थप सक्रिय भई बाढीपहिराको जोखिम बढ्ने सम्भावना रहेको वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताए ।
७. ‘इनफ इज इनफ’ का सत्याग्रहीले तोडे अनशन
कोरोना रोकथामका बिषयमा सरकारसँग विभिन्न मागहरु राख्दै असार १२ गतेबाट अनशन बसेका ‘इनफ इज इनफ’ का अभिन्याताहरु ईशान अधिकारी ‘ई’ र पुकार बमले अनशन तोडेका छन् । सोमबार सरकारसँग १२ बुँदे मागमा सहमती भएसँगै उनिहरूले अनशन तोडेका हुन् । स्वास्थ्य मन्त्रालय र इनफ इज इनफबीच हिजो (सोमबार) मन्त्रालयमा वार्ता भएको थियो ।
८. बाग्मती प्रदेशमा लागुऔषध प्रयोगकर्ता धेरै
गृह मन्त्रालयले केन्द्रीय तथ्यांक विभागसँगको सहकार्यमा गरेको अध्ययनअनुसार बाग्मती प्रदेशमा लागुऔषध प्रयोगकर्ता सबभन्दा धेरै र कर्णालीमा प्रदेशमा सबैभन्दा कम रहेको पाइएको छ । बाग्मती प्रदेशमा कुलमध्ये ३५ दशमलव ६ प्रतिशत र कर्णाली प्रदेशमा एक दशमलव ४ प्रतिशत प्रयोगकर्ता छन् ।
९. कटेजमा ताल्चा, बैंकमा ऋण : तनावमा पर्यटन व्यवसायी
कन्काई नगरपालिकाका डिपी आचार्य अहिले तनावमा छन् । इलामको सूर्योदय नगरपालिकास्थित अन्तुमा सञ्चालन गरेको कटेज बन्दाबन्दीको समयमा बन्द गर्नु परेपछि उनी तनावमा परेका हुन् । दुई वर्षअघि आचार्यले साहु र बैंकको ऋण लिएर भाडामा लिई अन्तुमा कटेज खोलेका थिए तर अहिले त्यो कटेज बन्दाबन्दी शुरु भएदेखि नै बन्द छ ।
१०. ताेलामा सात सयले बढ्याे सुन
नेपाली बजारमा (आज) मंगलबार सुनको मूल्य बढेको छ । सोमबार तोलामा ९० हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार सात सयले बढेर ९० हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । यस्तै तेजावी सुन तोलामा ९० हजार ४ सय ६० रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मुल्य दश रुपैयाँले बढेरु ९ सय ५० रुपैयामा कारोबार भएको महासंघले जनाएकाे छ ।
११. इन्डोनेसियामा ६.३ म्याग्नीच्यूडको भूकम्प
भूकम्पीय उच्च जोखिममा रहेको इन्डोनेसियाको सेमाराङमा ६.३ म्याग्नीच्यूडको भूकम्प गएको छ । इन्डोनेसियाली अधिकारीहरुले उक्त स्थानमा कुनै क्षति भए नभएको बारेमा विवरणहरु संकलन गर्ने कार्य शुरु भएको बताएका छन् । सोमबार नै ताजिकिस्तानमा पनि ४ म्याग्नीच्यूडको भूकम्प गएको त्यहाँकाे राष्ट्रिय भूगर्भ केन्द्रले जनाएको छ ।