काठमाडौँ उपत्यकामा सवारी दुर्घटनामा ज्यान गुमाउनेहरुमा युवाको संख्या उल्लेख्य रहेको तत्यांकले देखाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकामा सवारी दुर्घटनाबाट ज्यान गुमाउनेमा १७ देखि ३५ वर्ष उमेर समूहका बढी रहेका छन् ।
महाशाखाका अनुसार आव २०७६/७७ मा उपत्यकामा सवारी दुर्घटनाबाट १४५ जनाको मृत्यु भएकोमध्ये सो उमेर समूहका ९४ जनाको ज्यान गएको हो । यस्तै १६ वर्ष मुनिका ७ र ३६ वर्षभन्दा माथिका ४४ जनाले सवारी दुर्घटनाबाट ज्यान गुमाएका छन् ।
उपत्यकामा सवारी दुर्घटनाबाट मृत्यु हुनेमा दुई पाङ्ग्रे चालक बढी रहेका छन् । आव २०७६/७७ मा सवारी दुर्घटनाबाट ७६ जना दुई पाङ्ग्रे (मोटरसाइकल/स्कुटर) चालकको मृत्यु भएको हो । यस्तै, मृत्यु हुनेमा ४७ पैदलयात्रु, बस दुर्घटनाबाट ६, साइकल दुर्घटनाबाट पाँच, ट्रक दुर्घटनाबाट पाँच, ट्रिपर दुर्घटनामा तीन र कार दुर्घटनाबाट तीन जनाको मृत्यु भएको छ ।
उपत्यकामा गत आव २०७५/७६ मा सवारी दुर्घटनाबाट २५४ जनाको मृत्यु भएको थियो ।
दुर्घटनाका कारण चालकको लापरवाही
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आर्थिक वर्ष २०७६/७७ मा नौ हजार ४६१ दुर्घटना भएकामध्ये अधिकाशं चालकको लापरवाहीबाट हुने गरेको छ । उपत्यकामा चालकको लापरवाहीबाट आठ हजार ४७२ दुर्घटना भएको छ । यस्तै, मादक पदार्थ सेवनबाट ४३५, तीव्रगतिबाट ४२२, ओभरटेकबाट ५८, यान्त्रिक गतिविधि ४९, सडकको दुरावस्थाबाट १६, पैदलयात्रुको लापरवाहीबाट चार र मौसम÷चौपायाबाट पाँच दुर्घटना भएको छ ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल चालकले सवारी नियम नमान्ने प्रवृत्तिका कारण उपत्यकामा धेरै दुर्घटना हुने गरेको बताउछन् ।