एप्पल कम्पनीकै सबैभन्दा सस्तो आईफोन अब नेपालमा पनि लन्च हुने भएको छ । एप्पल ब्राण्डको नेपालका लागि आधिकारीक बिक्रेता कम्पनी जेनेरेसन नेक्स्ट कम्युनिकेसन्स प्रालि (जेननेक्स्ट) ले आईफोन एसई २०२० (iPhone SE 2020) नाम दिइएको बजेट आईफोन अर्को सातादेखि नेपाली बजारमा उपलब्ध गराउने भएको हो ।
लामो समयदेखि चर्चाको विषय बनेको यो आईफोन एसई, एप्पलले गत अप्रिल महिनामा विश्व बजारमा सार्वजनिक गरेको थियो । कम्पनीले ल्याएको आइफोन एसई अहिले सम्मकै सस्तो मूल्यको आइफोन हुने बताइएसँगै नेपाल लगायत सम्पूर्ण विश्व बजारमा नै यसको चर्चा निकै बढेको छ ।
डिस्प्ले र पर्फमेन्स
आईफोन एसई हेर्दा आईफोन ८ जस्तै देखिए पनि यसको आन्तरिक डिजाइन भने आईफोन ११ सिरिजको आधारमा डेभलभ गरिएको कम्पनीले जनाएको छ । आईफोन ८ मा जस्तै नयाँ आईफोनमा पनि १३३४×७५० पिक्सेल रिजोलुशन भएको ४.७ इन्चको रेटिना एचडी एलसीडी (Retina HD LCD) डिस्प्ले राखिएको छ । यसको डिस्प्ले प्यानल हपटिक (Panel Haptic) टच सपोर्टको साथमा आएको छ ।
यस्तै स्पीड तथा मल्टीटास्किङको लागि यो आईफोनमा एप्पलको ए १३ बायोनिक (Apple A13 Bionic) चिपसेट दिइएको छ । यहि चिपसेट आईफोन ११, आईफोन ११ प्रो र आईफोन ११ प्रो म्याक्समा पनि प्रयोग गरिएको छ । एप्पलको आईओएस १३ (ios 13) अपरेटिङ सिस्टममा आधारित यो आईफोनको आस्पेक्ट रेशियो १६.९ रहेको छ भने ग्राफिक्सको लागि यसमा एप्पल जीपीयू ४–कोर Apple GPU (4-Core graphics) ग्राफिक्स समावेश गरिएको छ ।
फिंगरप्रिन्ट सेन्सर
यो आईफोनमा फेस अनलक नभएर फिंगरप्रिन्ट सेन्सर रहेको छ । फेस आईडी नभएको हुनाले कम्पनीले यसमा टच आईडी फिंगरप्रिन्ट सेन्सर समावेश गरेको छ ।
क्यामरा
आईफोन एसईमा अर्पचर एफ १.८ सहितको १२ मेगापिक्सेलको मुख्य क्यामरा रहेको छ । यसबाट फोरके (4K) सम्मको भिडियो रेकर्डिङ गर्न सकिन्छ । यस बाहेक सेल्फी तथा भिडियो कलिंगका लागि यसको फ्रन्टमा अर्पचर एफ २.२ सहितको ७ मेगापिक्सेलको सेल्फी क्यामरा रहेको छ ।
स्टोरेज
यो आईफोन ६४, १२८ र २५६ जीबी गरि तीन स्टोरेज भेरियन्टमा उपलब्ध रहेको छ । यी तीनै वटा भेरियन्टमा ३ जीबीको र्याम समावेश गरिएको छ ।
कलर अप्शन
कम्पनीले आईफोन एसई सेतो, कालो र रातो गरी तीन फरक कलर अप्शनमा सार्वजनिक गरेको छ । नेपालमा पनि यी तीन वटै कलरमा उपलब्ध हुने जेननेक्स्टले जनाएको छ।
ब्याट्री
यो आईफोनमा १८२१ एमएएचको non-removable ब्याट्रीकाे साथमा १८ वाट को फास्ट चार्जिङ सिस्टम रहेको छ। यसको डायमेन्शन १३८.४ ६७.३ ७.३ एमएम र तौल १४८ ग्राम रहेको छ।
मूल्य
नेपाली बजारमा आईफोन एसईको ६४ जीबी स्टोरेज भेरिएन्टको मूल्य ६८ हजार ५ रुपैंया निर्धारण गरिएको छ। यस्तै १२८ जीबी भेरिएन्टको मूल्य ७६ हजार ५ सय रुपैंया र २५६ जीबी भेरिएन्टको मूल्य ९२ हजार ५ सय रुपैंया तोकिएको जेननेक्स्टले जनाएको छ ।