सौराहाका १ सय २० होटलमा २० अर्बभन्दा बढी लगानी छ । कोरोना भाइरसको संक्रमणका कारण सबैभन्दा बढी प्रभावित भएको होटल क्षेत्र अझै सञ्चालन हुन सकेको छैन । क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टराई होटल बचाउन कठिन भएको बताउँछन् । बैंकको ब्याज र किस्ता असारमा तिर्न नसक्ने भन्दै उनले होटल कुर्ने कर्मचारी र बिजुलीको पैसा पनि तिर्न नसकेको बताए ।
उनका अनुसार बैंकिङ ऋण मात्र ८ अर्ब बढी छ । ऋण तिर्ने समय पछाडि सार्नुको विकल्प नरहेको उनको भनाइ छ ।
त्यस्तै, अन्य होटलको अवस्था पनि उस्तै छ । होटल व्यवसायी महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष दिनेश चुके यसअन्तर्गत रहेका देशभरका ८० हजार होटलको अवस्था दयनीय रहेको बताउँछन् । होटल बन्द नै भएकाले अहिले ब्याज र किस्ता तिर्न सक्ने अवस्था नरहेको उनले बताए ।
व्यवसायीले भ्रमण वर्ष लक्षित गरी २५–३० प्रतिशत थप लगानी गरेको भन्दै उनले त्यससँगै कोभिडका कारण व्यवसाय ठप्प रहँदा आफूहरु मर्कामा परेको बताए । ब्याज र किस्ता पुनर्ताजगी गर्न र सञ्चालनका लागि ५ प्रतिशत थप कर्जा दिनुपर्ने उनको भनाइ छ ।
एक वर्षसम्म ब्याज र किस्ता तिर्न गाह्रो
कोभिड १९– का कारण निकै प्रभावित बनेको कुखुरा व्यवसायीको पनि आफ्नै पीडा छ । सो व्यवसायीको छाता संस्था नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्ट धेरै किसान विस्थापित भइसकेको भन्दै असारमा नभएर एक वर्षसम्म ब्याज र किस्ता तिर्ने अवस्थामा व्यवसायी नभएको बताउँछन् । बैंकले चालु पुँजी थप्नुपर्ने भन्दै उनले पूर्ववत् अवस्थामा फर्कन एक वर्ष लाग्ने बताए । आफूहरुले राष्ट्र बैंकका गभर्नरसमक्ष समस्या राखिसकेको भन्दै विष्टले अब थप ऋण लिएर व्यवसाय गर्दा ब्याज र किस्ता तिर्न एक वर्ष कुर्नुपर्ने बताए ।
व्यवसायीले चालु पुँजी थप गर्न, किस्ता एक वर्षपछि मात्र राख्ने गरी पुनर्ताजगी गर्न, लकडाउनको समयको ब्याजज मिनाहा गर्न माग गरेका छन् । नेपालमा कुखुरापालन व्यवसायमा १ अर्ब ५० करोडभन्दा बढी लगानी छ । यस व्यवसायमा ३५ अर्ब बढी बैंकिङ ऋण रहेको विष्ट बताउँछन् ।
नेपाल दाना उद्योग संघ केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष शंकरप्रसाद कँडेल राज्यले अहिले सहयोग नगरे नेपालको आत्मनिर्भर पोल्ट्री व्यवसाय धरासायी हुने बताउँछन् । किसानसँग कुखुरा नहुँदा अहिले लागत मूल्य पाएको भए पनि भित्री रुपमा धेरै किसान घरको न घाटको हुन पुगेको भन्दै उनले किसानले ब्याज र किस्ता तिर्न सक्ने अवस्था नरहेको बताए ।
यातायात व्यवसायी
कोभिड १९– का कारण यातायात क्षेत्र पनि पूर्ण रुपमा प्रभावित छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष राम सुवेदी सवारीसाधन थन्किएर बसेकाले तत्काल ऋणको ब्याज र किस्ता तिर्न नसक्ने जानकारी सम्बन्धित निकायमा गराएको बताउँछन् । देशभरमा सार्वजनिक यातायातका लागि किनिएका सवारी साधनको संख्या ९ लाखभन्दा बढी रहेको भन्दै उनले यसमा १५ खर्ब लगानी रहेको बताए । जसमध्ये ६० प्रतिशत बैंकको लगानी भएको सुवेदी बताउँछन् ।
स्वास्थ्य क्षेत्र
कोभिड १९– को संक्रमणसँगै स्वास्थ्य क्षेत्र पनि प्रभावित भएको छ । चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा. हरिशचन्द्र न्यौपाने अहिले ब्याज र किस्ता तिर्न नसक्ने बताउँछन् । नेपालका १८ वटा मेडिकल कलेजको मासिक १ करोड हाराहारी ब्याज र २ करोड किस्ता तिर्नुपर्ने भए पनि तलब खुवाउन नसकेको एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालका निवर्तमान अध्यक्ष न्यौपानेको भनाइ छ । उनका अनुसार कोभिडसँगै खर्च बढेकाले निजी क्षेत्रका अस्पताल दयनीय अवस्थामा छन् । सबै मेडिकल कलेजका शिक्षण संस्थाबाट खर्च धान्ने भए पनि अहिले पढाइ ठप्प हुँदा शुल्क उठ्न सकेको छैन ।
न्यौपाने सरकारले लकडाउनको अवधिको निजी स्वास्थ्य संस्थाका चिकित्सक, कर्मचारीको तलब सरकारीसरह खुवाइदिनुपर्ने र बैंकले ब्याज र किस्ता तिर्ने समय सार्नुपर्ने बताउँछन् । शिक्षण संस्थाको अवस्था पनि उस्तै रहेको व्यवसायी बताउँछन् । भृकुटी बोर्डिङ स्कुल नारायणगढका प्राचार्य रामजी पाण्डे निजी शिक्षण संस्थाले शिक्षक कर्मचारीको तलब खुवाउनसमेत नसकेकाले बैंकको ब्याज र किस्ता तिर्ने सम्भावना नरहेको बताउँछन् ।
उद्योगी व्यवसायीले असार मसान्तमा बैंकको ब्याज र किस्ता तिर्न कठिन भएको जनाएका छन् । विद्युत्, टेलिफोनदेखि कर्मचारीको तलबसमेत तिर्न समस्या भएको भन्दै उनीहरुले लकडाउनका कारण बैंकको ब्याज र किस्ता तत्काल तिर्न नसक्ने जनाएका हुन् ।
नेपाल राष्ट्रबैंकले हालसम्म कुनै निर्णय गरेको छैन । प्राइम बैंक भरतपुरका प्रबन्धक पदम पौडेल आफूहरुलाई कुनै निर्देशन नआएकाले विगतझैं ब्याज र किस्ता असारमा तिर्नुपर्ने बताउँछन् । ऋणीहरुले आफ्ना गुनासो राखिरहेको भन्दै उनले यस विषयमा केन्द्रीय कार्यालयमा जानकारी गराउने बाहेक अन्य अधिकार आफूसँग नरहेको बताए ।