१. थप २ सय ५५ जनामा कोरोना, कुल संख्या १६ हजार ४ सय २३
नेपालमा बुधबार थप २ सय ५५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयाेगशालामा गरेकाे परिक्षणमा थप २ सय ५५ जना संक्रमित थपिएकाे बताए । यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ ।
२. काठमाडौंमा थपिए २३ जना नयाँ कोरोना संक्रमित
काठमाडौं उपत्यकाका दुई जिल्लामा बुधबार थप २३ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं जिल्लामा १६ र ललितपुरमा ७ जनामा काेराेना संक्रमण देखिएकाे बताए।
३. नेकपा स्थायी कमिटी बैठक पुनः स्थगित
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आजका लागि तय गरिएको स्थायी कमिटी बैठक पुनः स्थगित भएको छ । बैठक असार २६ गते सम्मका लागि स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् । आन्तरिक विवाद मिलाउन शीर्ष नेताहरुको छलफल चलिरहेकाले बैठक पुनः सरेको हो ।
४. हावाबाट पनि कोरोना सर्न सक्ने डब्ल्युएचओकाे दावी
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले हावाबाट पनि कोरोना भाइरस (कोभिड–१९) सर्न सक्ने दावी गरेको छ। डब्ल्युएचओकी टेक्निकल डाक्टर मारिया भान केरखोवले हावाबाट कोरोना फैलिएको प्रमाण भेटिएको बताउँदै यसको अध्ययन जारी रहेको बताइन्। भीडभाडमा, कम हावा भएको ठाउँमा र बन्द कोठामा हावाबाट कोरोना भाइरस फैलिने कुरालाई डब्ल्युएचओले स्वीकार गरेको छ।
५. नेपाल एयरलाइन्सका ४ उडान कर्मचारीमा कोरोना संक्रमण
नेपाल एयरलाइन्सका थप चार जना उडान कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ। एयरलाइन्सका प्रवक्ता अर्चना खड्काका अनुसार पाटन अस्पतालमा गरिएको परीक्षणमा एक जना पाइलट र तीन जना उडान कर्मचारीमा कोरोना भाइरस पुष्टी भएको हो।
६. बन्दाबन्दीमै छापियो साढे तीन लाख स्मार्ट लाइसेन्स
यातायात व्यवस्था विभागले बन्दाबन्दीमा झण्डै साढे तीन लाख चालक अनुमतिपत्र छापेको छ । चालु आवको अहिलेसम्म साढे छ लाख अनुमतिपत्र छापिएको छ । झण्डै दुई लाख अनुमतिपत्र छपाइ गर्न बाँकी छ । गत पुस मसान्तसम्म नयाँ अनुमतिपत्रका लागि लिइएको परीक्षा उर्तीण र नवीकरणका लागि आएका अनुमतिपत्र छापिएको छ । असार मसान्तभित्रमा थप अनुमतिपत्र छापिन सकिने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।
७. मास्क नलगाउने ६४ पक्राउ
मास्क नलगाई हिँड्ने ६४ जनालाई मङ्गलबार एकै दिन सिरहा प्रहरीले पक्राउ गरी कारवाही गरेको छ । लकडाउनको नियम पालन गर्न आग्रह गरिरहँदा पनि बेवास्ता गरी मास्क नलगाउने ६४ जनालाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
८. मन्त्री योगेश भट्टराईद्वारा चीनको प्रशंसा
पर्यटनमन्त्री योगेश भट्टराईले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्र विवाद चलिरहेको बेलामा चीनको पक्षमा बोलेका छन् । नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका भट्टराईले बुधबार फेसबुकमा चार बुँदे स्ट्याटस लेख्दै नेपालको मामिलामा चीनले खेलेको भूमिकाको प्रशंसा गर्दै भारतको गतिविधिबारे आलोचना गरेका छन्।
९. राजु परियारलाई ‘कोरोनाले रुवायो’
विश्वभरी कोरोना महामारीले सताइरहेको बेला गीत संगीतको क्षेत्रमा पनि उत्तिकै असर परेको छ । तथापि यससँगै कोरोनासम्बन्धि जनचेतनामूलक तथा यसबाट पाएको दुःखलाई लिएर पनि सिर्जनाहरु हुँदै आएको छ । यसै क्रममा चर्चित लोकगायक राजु परियारले कोरोनाको दुःखलाई समेटेर गीत ‘कोरोनाले रुवायो’ सार्वजनिक गरेका छन् ।
१०.अहिलेसम्मकै सबैभन्दा सस्तो आईफोन नेपालमा लन्च हुँदै, कति पर्ला मूल्य ?
एप्पल कम्पनीकै सबैभन्दा सस्तो आईफोन अब नेपालमा पनि लन्च हुने भएको छ । एप्पल ब्राण्डको नेपालका लागि आधिकारीक बिक्रेता कम्पनी जेनेरेसन नेक्स्ट कम्युनिकेसन्स प्रालि (जेननेक्स्ट) ले आईफोन एसई २०२० (iPhone SE 2020) नाम दिइएको बजेट आईफोन अर्को सातादेखि नेपाली बजारमा उपलब्ध गराउने भएको हो ।