सभामुख अग्निप्रसाद सापकोटासहितको टोली खराब मौसमका कारण काभ्रेपलाञ्चोकको धुलिखेलबाटै काठमाडौं फर्किएको छ । सिन्धुपाल्चोक जिल्लामा बाढीले पुर्याएको क्षतिको अवलोकन एवं जानकारी लिन आज बिहान उनीसहितको टोली त्यसतर्फ हेलिकप्टरमा जाँदै थियो ।
मौसम प्रतिकूलताका कारण नेपाली सेनाको हेलिकप्टर बाह्रबिसे जान नसकेपछि धुलिखेलको आकाशबाटै फर्किएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । मौसम अनुकूल भएपछि टोली बाढी प्रभावित क्षेत्र प्रस्थान गर्नेे छ । सभामुख सापकोटाको बुधबार मात्रै आँखाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको थियो ।
यसैबीच नेपाली सेनाको उद्धार टोलीसमेत बाढी प्रभावित क्षेत्रमा गएको सेनाको जनसम्पर्क निर्देशनालयले जनाएको छ । अविरल वर्षासँगै गएको पहिरो तथा बाढीबाट बाह्रबिसे नगरपालिकाको जम्बुमा दुई जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता भएका छन् ।