सिन्धुपाल्चोकको बाह्रबिसेमा भोटेकोसी र स्थानीय ठाडो खोलामा आएको बाढीले ३४ घर बगाएकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाढीले लक्ष्मण वाइवा, जनकबहादुर थिङ, आकाश केसी, तोकबहादुर तामाङ, प्रेमदास श्रेष्ठ, गोपाल बस्नेत, देवी तामाङ, तोकबहादुर बस्नेत, सुवास राउत, कुष्णबहादुर रुम्बा, नितेश बस्नेत र खिलबहादुर अधिकारलगायतकाे घर तथा टहरो बगाएकाे हाे ।
बाढीकै कारण दुई जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा बाह्रबिसे-५ का २० वर्षीय निकेश बस्नेत र उनकी छोरी निउना बस्नेत रहेका छन् ।
भोटेकोसीमा पानीको बहाव बढेकाले नदी किनारका मानिसलाई सचेत गराइएको इलाका प्रहरी कार्यालय बाह्रबिसेले जनाएको छ ।
बलेफी गाउँपालिका–७ मा बाढीले राजकुमार परियारको घर कटान गरेको प्रहरी चौकी लामोसाँघुले जनाएको छ ।
भोटेकोसी गाउँपालिका–५, बुलकुटे झ्यालेस्थित बुलकुटे ठाडो खोलामा लेदोसहित आएको बाढीले निमा दोर्जे तामाङ र लाक्पा तामाङको घर बगाएको छ । निमा दोर्जे तामाङ, मन्जु तामाङ, पासाङ नर्बु तामाङ, साहिला तामाङ बेपत्ता भएका छन् ।
त्यस्तै, मध्यभोटेकोसी हाइड्रो पावर कम्पनीको स्टोर घर पुरिएको छ । बाह्रबिसे नपाका ३, ५ र ८ वडामा बाढीले क्षति गरेकाे स्थानीयकाे भनाइ छ ।