सिन्धुपाल्चोक– नेपाली काँग्रेसले बुधबार राति सिन्धुपाल्चोकको भोटेकोशी र अन्य नदीमा आएको बाढीले पुर्याएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । बाढीमा परी हालसम्म दुई जनाको मृत्यु, दुई जना गम्भीर घाइते, १४ जना हराइरहेको तथा अरनिको राजमार्गसमेत अवरुद्ध भएको जनाइएको छ । काँग्रेसले तत्काल युद्धस्तरमा उद्धारको कार्य गर्न सरकारसँग माग समेत गरेको छ ।
काँग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज एक विज्ञप्तिमार्फत सो घटनाप्रति दुःख व्यक्त गर्दै सरकारलाई छिटोभन्दा छिटो उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न आग्रह गरेका छन्। साथै उहाँले सिन्धुपाल्चोकका काँग्रेसका नेता कार्यकर्तालाई तत्काल उद्धारमा खटिन निर्देशनसमेत दिएका छन् । उनले बाढीका कारण जीवन गुमाउने व्यक्तिका परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
वर्षाको समयमा हरेक वर्ष झैँ यस वर्ष पनि बाढीपहिरोको घटना विकराल बन्नसक्ने स्थिति दृष्टिगत गर्दै काँग्रेस केन्द्रीय कार्यसमितिको यही असार २२ गतेको बैठकले यसबारे विपद् व्यवस्थापनको उच्चस्तरीय तयारी प्रारम्भ गर्न सरकारको विशेष ध्यानाकर्षण गराएको थियो । यस बारेमा पुनःसरकारको ध्यानाकृष्ट गराएको विज्ञप्तिमा उल्लेख छ ।