गरिबी निवारण कोषले वर्षौं पुराना समाचार तथा कथाहरु निरन्तर प्रकाशन गरेर कोषसम्बन्धी अनावश्यक भ्रम छर्न खोजिएको भन्दै सञ्चार माध्यमको ध्यानाकृष्ट गराएको छ । कोषले आज प्रेस विज्ञप्ति सार्वजनिक गरेर विभिन्न सञ्चार माध्यममा शृंखलाबद्ध रूपमा पुराना सूचनामा आधारित समाचार छापिएको भन्दै सञ्चार माध्यमको ध्यानाकृष्ट गराएको हो ।
कोषले नयाँ नेतृत्व आउनुभन्दा धेरै अगाडि प्रकाशित समाचार तथा कथाहरुको पुनः प्रकाशन औचित्यहीन भएको बताएको छ । ‘ती समाचारले कोषको वर्तमान नेतृत्व र गतिविधिसँग कुनै सम्बन्ध नराख्ने तथ्य स्मरण गराउँदछौँ,’ विज्ञप्तिमा उल्लेख छ ।
कोषको पुनर्संरचना गर्ने कार्यविधिअनुसार कोषद्वारा प्रवर्धित ३२२७६ सामुदायिक संस्थामा रहेको करिब १९ अर्ब रुपैयाँको देखभाल र व्यवस्थापन गर्न एक मार्गदर्शनसहित स्थानीय तहलाई हस्तान्तरण गरिएको छ ।
‘सो रकमलाई बीउ पुँजी मानेर देशका ६४ जिल्लामा छरिएर रहेका सबै सामुदायिक संस्थालाई आगामी आर्थिक वर्षभित्र सहकारी रूपान्तरण गर्ने नेपाल सरकारको लक्ष्य कार्यान्वयन गर्न अन्तिम तयारीमा जुटिरहेको कोषविरुद्ध वर्षौं पुराना समाचार–कथाहरुको निरन्तर प्रकाशनले अनावश्यक भ्रम मात्र छर्ने काम गरेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, कोषले सञ्चार माध्यमले आफ्नो जवाफदेहिता पूर्ण रूपमा भुलेको जनाएको छ ।
‘समाचारमा उल्लेख गरिएजस्तो गाडी, कम्प्युटरलगायतका जिन्सी सामानको यो अवधिमा कुनै अपचलन नभएको जानकारी गराउँदै सोसम्बन्न्धी तथ्यहीन र कपोलकल्पित समाचार प्रकाशन र पुनः प्रकाशन भएकामा खेद व्यक्त गर्दछौं,’ विज्ञप्तिमा जनाइएको छ ।
कोषले कार्यालयमा रहेका अन्य चल–अचल सम्पत्तिको विवरणसमेत जो कोही सञ्चारकर्मीले चाहेको बखत उपलब्ध गराउने प्रतिबद्धतासमेत जनाएको छ ।
कोषले कोषका वर्तमान गतिविधि, उपलब्धि र रचनात्मक आलोचना समेटेर समाचार बनाउन चाहने सञ्चारकर्मीलाई सधैं आवश्यक सहयोग गर्ने बताएको छ ।