केही समयअघि कलाकार दीपाश्री निरौलाले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा अभिनेता राजेश हमालबारे अभिव्यक्ति दिँदा ‘महानायक पनि छन् र ?’ भनेर प्रश्न गरेकी थिइन् । दीपाले ‘राजेश हमाल महानायक हुन् र ?’ भन्दै पछिल्लो समय अभिनेता हमालको उपस्थिति कतै नरहेको तथा आफ्ना दर्शक समस्यामा परेको बेला केही नबोलेको भन्ने खालका अभिव्यक्ति दिएकी थिइन् ।
दीपाश्रीका लागि यो अभिव्यक्ति निकै महँगो साबित भयो । त्यसयता उनले चर्को आलोचना खेपिरहेकी छन् । राजेश हमालका फ्यानले मात्रै होइन, दीपाश्रीलाई रुचाउनेहरुले नै उनको उक्त अभिव्यक्तिलाई लिएर टीका टिप्पणी गरेका छन् ।
दर्शकको आलोचनाको चाप खेप्न नसकेपछि दीपाले लामो स्टाट्स पोस्ट गर्दै हमालका फ्यानसँग राजेश हमाललाई महानायक नमान्ने आफ्नो हैसियत नभएको भन्दै माफी मागिन् ।
स्टाट्समा दीपाले चलचित्र क्षेत्रको महानायक भएपछि चलचित्र क्षेत्रमा परेको विषम परिस्थितिमा एउटा अभिभावकको भूमिका निर्वाह गरेर आफूलाई वर्षौंदेखि सहयोग गरेका प्राविधिकलाई परेको पीर मर्कामा सहयोग गर्न नसकेको भन्दै फेरि पनि गुनासो गरेकी थिइन् ।
दीपाले माफी माग्दा पनि हमालका फ्यानले उनको अलोचना भने गर्न छोडेका छैनन् । यही सन्दर्भलाई लिएर कलाकार दीपकराग गिरी पनि नराम्रोसँग चिप्लिएका छन् । उनले दीपाको पक्षपोषण गर्दै केही स्टाट्स पोस्ट गरेका थिए । त्यसपछि दीपकको पनि चर्को आलोचना भइरहेको छ । हमालका फ्यानले मात्रै होइन, दीपक–दीपाकै फ्यानले समेत उनीहरुका आगामी चलचित्र नहर्नेसम्मका अभिव्यक्ति दिइरहेका छन् ।
यता, अभिनेता राजेश हमालले भने आफूलाई लिएर दीपाश्रीको अभिव्यक्तिलाई सामान्य रूपमा लिएको बताएका छन् । एक अन्तर्वार्तामा बोल्दै उनले यस विषयबारे आफ्नो कुरा राखेका हुन् ।
हमालले आफ्नो सम्मान नगरे पनि कलाकारिता क्षेत्रलाई सम्मान गर्न आग्रह गरेका छन् । सबैतिरबाट अभिव्यक्ति आइसक्दा पनि दीपक–दीपाको आलोचना भने हुन् छोडेको छैन । दीपकराज गिरीले चर्को आलोचना पछि सत्यले चुपचाप हिँड्नुपर्ने भन्दै कुनै अभिव्यक्ति दिएका छैनन् । दीपाश्री पनि यस विषयमा मौन बसेकी छन् । तर, सामाजिक सञ्जाल भने महानायक बहसले गर्माइरहेको छ ।