उत्तर कोरिया र अमेरिकाबीच तत्कालै उच्चस्तरीय वार्ता नहुने भएको छ । उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले अमेरिकासँग हुने भनिएको अर्को उच्चस्तरीय वर्ताको कुनै अर्थ नहुने बताएपछि दुई देशबीच तत्कालै वार्ता नहुने भएको हो ।
उनले अब अमेरिकासँग गरिने अर्को वार्ता अनावश्यक भएकाे र यस्तो प्रयोगविहीन वार्ता गर्न पनि नहुने बताएकी छन् । उनले यी दुई देशले वार्तामा बसेर निष्कर्ष निकाल्न पनि नसक्ने भएकाले यस्तो वार्ता अनावश्यक भएको बताएकी हुन् ।
अमेरिका आफ्नो अडानमा मात्र टाँसिएर बस्ने भएकाले वार्ताका माध्यमबाट निष्कर्ष निकाल्न नसकिएको उनको भनाइ छ । केही दिनमात्र अघि पनि उत्तर कोरियाको विदेश मन्त्रालयका संयुक्त राज्य अमेरिका विभागका प्रमुख नोन जोङ गनले अमेरिकासँग वार्ता गर्न इच्छुक नरहेको बताएका थिए ।
उनको सो भनाइको केही दिन पछि किम यो जोङले शुक्रबार यस्तो धारणा राखेकी हुन् । उनको यो धारणासँगै उत्तर कोरिया आगामी दिनमा अमेरिकासँग हुने भनेको वार्तामा बस्न इच्छुक नहुने देखिएको हो ।
केही समयअघि दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले अमेरिकाको आगामी राष्ट्रतीय निर्वाचनअघि अमेरिका र उत्तर कोरियाबीच वार्ता हुने अनुमान गरिएको बताएका थिए ।