नयाँ दिल्ली - भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्या बढ्दै जानेक्रममा २६ हजारभन्दा बढी पुगेको छ । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा २६ हजार ५ सय ६ जना संक्रमित भएका छन् । यो संख्या दैनिक संक्रमित भएकाहरुको संख्या मध्ये सवैभन्दा धेरै पनि हो ।
केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले एकैदिनमा ४ सय ७५ जनाको कोरोनाका कारण मृत्यु भएको पनि जनाएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको संख्या सात लाख ९३ हजार ८सय २ पुगेको अधिकारीहरुले जनाएका छन् ।
भारतमा अहिले पनि दुई लाख ७६ हजार ६ सय ८५ जना संक्रमित अवस्थामै रहेका छन् भने चार लाख ९५ हजार ५ सय १३ जना संक्रमणमुक्त भएका छन् । त्यसैगरी भारतमा कोरोनाकै कारण मृत्यु भएकाहरुको संख्या अहिलेसम्म २१ हजार ६ सय ४ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।
कोरोनाबाट भारतमा सवैभन्दा धेरै प्रभावित भएको महाराष्ट्र प्रदेशमा दुई लाख ३० हजार ५ सय ९९ जना संक्रमित भएका छन् । त्यसैगरी तमिलनाडुमा एक लाख २६ हजार ५ सय ८१ जना र दिल्ली प्रदेशमा एक लाख सात हजार ५१ जना संक्रमित भएका छन् ।