भीमदत्तनगर - सुदूरपश्चिम प्रदेशमा ९८ प्रतिशत संक्रमितलाई क्वारेन्टिन र घरमा राखिएको छ । स्वास्थ्यमा समस्या र रोगको लक्षण देखिएपछि मात्रै संक्रमितलाई आइसोलेसन कक्षमा राखेर उपचार गर्ने नीति अवलम्बन गरेर झन्डै ९७.७१ प्रतिशत संक्रमितलाई क्वारेन्टाइन र घरमै राखिएको हो । आइसोलेसनमा दुई प्रतिशत मात्र संक्रमित रहेका छन् ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बुधबार साँझसम्म सुदूरपश्चिमका नौ वटै जिल्लामा गरी संक्रमितको संख्या ३ हजार ७ सय १७ पुगेको छ । त्यसैगरी संक्रमणको आशंका १५ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । संक्रमितलाई आइसोलेसनमा नराखी घर पठाउँदा समुदायमा संक्रमण फैलिने भन्दै स्थानीय त्रासमा छन् ।
‘भारतबाट आएकालाई यहाँ क्वारेन्टिनमा राखियो,’ कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ का व्यवसायी सुरेन्द्र बमले भने, ‘संक्रमण पुष्टि भएकालाई घर पठाउँदा समुदायमा संक्रमणको सम्भावना धेरै भयो । उनले संक्रमितलाई होम क्वारेन्टिनमा बस्न भनिए पनि बसाइ सुरक्षित नभएको जनाए ।
‘संक्रमण पुष्टि भएकालाई सार्वजनिक ठाउँमा क्वारेन्टिन बनाएर राख्न पाए हुन्थ्यो,’ उनले भने, ‘अहिले बवणी क्षेत्रमा मात्रै सयभन्दा बढी संक्रमित घरमा हुँदा संक्रमणको त्रास बढेको छ ।’
उनले भारतबाट आउनेलाई क्वारेन्टिनमा राख्ने र संक्रमितलाई घरमा बसाउने काम गलत भएको बताए । सुदूरपश्चिम प्रदेशको धनगढी, डडेल्धुराबाट हाल पिसिआर विधिबाट कोरोना परीक्षण हुनुका साथै सुर्खेत र काठमाडौंमा स्वाब पठाएर परीक्षण भइरहेको निर्देशनालयले जनाएको छ ।
‘पहिले स्थानीय तहले सञ्चालनमा ल्याएका क्वारेन्टिनलाई अहिले आइसोलेसनमा परिणत गर्ने कार्य धमाधम हुँदै छ,’ उनले भने, ‘सबै सङ्क्रमितलाई अस्पतालमा राखेर उपचार गर्ने सम्भावना नै रहेन ।’ सुदूरपश्चिममा सबैभन्दा बढी कैलाली जिल्लामा ९ सय ८६ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै कञ्चनपुरमा ४४०, डडेल्धुरामा २६९, अछाममा ५८७, बैतडीमा २९७, बाजुरामा ४४४, दार्चुलामा १९ र डोटीमा ५३३ जनामा सङ्क्रमण देखिएको छ ।
त्यसैगरी यहाँका नौ वटै जिल्लामा आरडीटी विधिबाट गरिएको परीक्षणमा ९९३ जनामा पोजेटिभ देखिएको निर्देशनालयले जनाएको छ । कोभिड–१९ कञ्चनपुरका सम्पर्क व्यक्ति सिद्धराज भट्टले बिहीबारसम्म गरेर यहाँ सङ्क्रमितको सङ्ख्या ४४३ रहेको बताए । उनले भने, ‘धेरै जना निको भएर घर फर्किसकेका छन् ।’ उनले पछिल्लो चरण कोरोना परीक्षणको रिपोर्ट आउन ढिलाइ भइरहेको जनाए ।
सुदूरपश्चिम प्रदेश सरकारले कैलालीको धनगढी र कञ्चनपुरको भीमदत्तनगरमा ५०÷५० शय्याको कोरोना अस्पताल केही समय अघिदेखि सञ्चालनमा ल्याएको छ । संक्रमितमध्ये अधिकांश भारतबाट फर्किएका रहेका छन् । प्रदेश सरकारले यहाँ अझै समुदायस्तरसम्म कोरोना नफैलिएको दाबी गर्दै आएको छ । रासस