गीतकार डिआर उपाध्याय नेपाली गीत संगीतमा केही नयाँ प्रयोग गर्न चाहन्छन् । उनी आफूले लेखेका हरेकजसो गीतमा केही न केही फरकपन पस्किरहेका हुन्छन् । पछिल्लो समय उनले एउटै गीत विश्वका विभिन्न १२ भाषाका लेखे ।
उनले गीत मात्रै लेखेनन्, उक्त गीत रेकर्ड पनि गराए । कोरोनाको यो महामारीमा गीत संगीतमा लगानी गर्न कलाकारहरु डराइरहेका बेला उनले भने १२ भाषाका गीतमा लगानी गरे । उनको यही लगानी यतिबेला ‘गिनिज अफ वर्ल्ड ’मा रेकर्ड भएको छ ।
गीतकार उपाध्यायले ‘मायाको सागरमा’ बोलको गीत नेपाली, हिन्दी, चाइनिज, जापानिज, अंग्रेजी, रसियन, कोरियन, फ्रेन्च, स्पेनिस, इटालियन, जर्मन र थाई भाषामा तयार पारेर गिनिज बुक अफ वर्ल्ड रेकर्ड प्राप्त गरेका हुन् ।
सन्तोष श्रेष्ठले संगीत गरेको उक्त गीत सागर अधिकारी ‘शरद’, डा. डिआर उपाध्याय र प्रकाश तिमिल्सिनाले गाएका छन् । योसँगै गीतकार उपाध्यायले गीत–संगीतबाटै १५ विश्व रकेर्ड राखेका छन् ।